• २३ वैशाख २०८२, मङ्गलबार

छात्रवृत्तिका लागि आवेदन माग

blog

काठमाडौँ, मङ्सिर ६ गते  । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त वा गम्भीर बिरामी भएका श्रमिकको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो । 

बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर हरेक वर्ष छात्रवृत्ति दिँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ भित्र निवेदन दिन सूचना गरिएका छौँ । 

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्वप्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) पढ्ने १८ वर्षसम्मका बालबालिकाले उक्त छात्रवृत्ति दाबी गर्न सक्ने छन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अङ्गभङ्ग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउने बोर्डका निर्देशक ढकालले जानकारी दिनुभयो । 

बोर्डका अनुसार वार्षिक रूपमा आधारभूत तहका लागि १२ हजार रुपियाँ र माध्यमिक तहका लागि १६ हजार रुपियाँ छात्रवृत्ति पाइने छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रूपमा एकमुस्ट छात्रवृत्ति उपलब्ध गराइने छ ।