काठमाडौं, मङ्सिर ६ गते। साना कलिला नानीबाबुदेखि ग्राज्युएडसम्मका पाठकलाई एउटा राम्रो अवसर हुन सक्छ ‘साउथ एसिया इन्टरनेशनल बुक फेयर २०२३ (नेपाल)’। काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको पुस्तक प्रदर्शनी अब चार दिनसम्म चल्नेछ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासङ्घका अध्यक्ष सञ्जय कुमार चौधरीले पुस्तक प्रदर्शनीको एक मुख्य उद्देश्य पाठक संस्कृतिको विकास गर्नु रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “विदेशतिर देख्नुभएको होला। हरेक प्रान्तमा हरेक वर्ष यस्ता पुस्तक प्रदर्शनी हुने गर्छन्। तर, दुर्भाग्यवश नेपालमा गत दश वर्षदेखि कुनै पनि बुक एक्जिविसन हुन पाएको छैन।” दश वर्षसम्म कुनै पनि पुस्तक प्रदर्शनी नहुँदा यस किसिमको गतिविधि हराउँदै गएको समेत उहाँको भनाइ छ।
महासङ्घले दश वर्षअघि यसखाले पुस्तक प्रदर्शनी आयोजना गरेको थियो। उहाँले भन्नुभयो, “यसरी बुझौँ कि, त्यो बेला जो मान्छे तीन, चार कक्षामा बुक फेयरमा सहभागी भए, आज ती विश्वविद्यालय पढ्ने भइसकेका छन्। त्यसपछिको पीढीले हेर्न पाएका थिएनन्।”
उहाँले देश समृद्ध हुन पनि साक्षरता नै मुख्य विषय रहने बताउनुभयो। उहाँले भन्नुभयो, “लिटरेसीबाट नै देश समृद्ध हुने हो। जसले जे भने पनि देशलाई समृद्धितिर लान लिटरेसीको ठुलो रोल छ।”
यस पटकको पुस्तक प्रदर्शनीमा सबै तहका शैक्षिक सामाग्रीसहित संस्कृति, साहित्य, व्यापार, व्यवसाय, लेख, रचना, सन्दर्भ सामग्री, मोन्टेसरी, उपन्यास, खेलकुद, प्रेरणादायी विषयवस्तु लगायत सबैजसो विधाका पुस्तक रहेको उहाँले बताउनुभयो।
प्रदर्शनीमा एक सय ५० वटा एक्जिबिटर छन्। उहाँले १५ वटा देशबाट पुस्तक प्रदर्शनीमा एक्जिविटरहरु सहभागी भएको भन्नुहुँदै इजिप्ट, अमेरिका, बेलायका प्रकाशक सहभागी भएको बताउनुभयो। यससँगै साउथ एसिया देशहरू श्रीलङ्का, भारत, चीन, पाकिस्तान लगायत निजी प्रकाशक सहभागी रहेको उहाँको भनाइ छ।
प्रदर्शनीमा हरेक देशले आफ्नो संस्कृतिलाई प्रचार गर्ने उद्देश्यले संस्कृतिसँग सम्बन्धित पुस्तकमा अलि जोड दिएको उहाँको भनाइ छ। पुस्तक प्रदर्शनीको एकातर्फ कविता, गजल वाचन भइरहेको हामीले देख्न सक्छौँ। पाठकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्नुहुँदै उहाँले प्रदर्शनीमा निःशुल्क प्रवेश रहेको कुरा सकेसम्म धेरैलाई जानकारी गराउन खोजिएको बताउनुभयो।
प्रदर्शनी क्षेत्रमा ठुला–ठुला स्क्रिनहरू सजाइएको छ। पुस्तक तथा शैक्षिक प्रदर्शनीको अभाव खड्किएको अवस्थामा महासङ्घले पुस्तक प्रदर्शनी आयोजना गरेको जनाएको छ। यसका लागि चाइना इन्टरनेशनल कर्पोरेसन ग्रुपसँग समन्वय गरिएको उहाँको भनाइ छ।
तस्बिरः केशब गुरुङ












 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                