• १२ मंसिर २०८१, बुधबार

जर्मन रक्षामन्त्रीको अघोषित युक्रेन भ्रमण

blog

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस

किएभ, मङ्सिर ५ गते । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रुसी सेनाविरुद्धको लडाइँमा युक्रेनका लागि बर्लिनको समर्थन पुष्टि गर्न मङ्गलबार अघोषित भ्रमणका क्रममा किएभ पुग्नुभएको छ ।

रेलबाट किएभ पुग्नुभएका पिस्टोरियसले आफ्ना युक्रेनी समकक्षीका साथै राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग कुराकानी गर्नुहुनेछ । अमेरिकापछि किएभलाई सबैभन्दा दोस्रो ठूलो सैन्य आपूर्तिकर्ता बर्लिनले मध्यपूर्व युद्धमा ध्यान केन्द्रित भएपछि युक्रेनका लागि समर्थन कम हुने चिन्तासँगै आश्वासन दिने कोसिस गरिरहेको छ ।

युक्रेनमाथि रुसी हवाई हमलामा वृद्धि भएपछि र किएभ आउने चिसोको महिनामा मुलुकको ऊर्जा संयन्त्रहरूमाथि हमलामा अपेक्षित वृद्धिका लागि तयार भइरहेका बेला यो भ्रमण भएको हो । यसै वर्षको सुरुमा रक्षामन्त्री बनेपछि पिस्टोरियसको यो दोस्रो किएभ भ्रमण हो । साथै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको अघोषित भ्रमण गरेको एक दिनपछि उहाँको यो भ्रमण भएको हो ।

राजनीतिक वार्ताका साथै पिस्टोरियसले किएभको मैदान स्क्वायरमा माल्यार्पण समारोहमा भाग लिनुहुनेछ र एउटा सैन्य प्रशिक्षण केन्द्रको भ्रमण गर्नुहुनेछ । प्रारम्भिकरूपमा केही हिचकिचाहटपछि जर्मनीले रुसको आक्रमणका कारण युक्रेनका लागि आफ्नो समर्थन तीव्ररूपमा बढाएको छ र किएभलाई भारी युद्ध ट्याङ्कदेखि लिएर हवाई रक्षा प्रणाली र गोलाबारुदसम्मको हतियारको एउटा विशाल शृङ्खला उपलब्ध गराएको छ । रासस/एएफपी