• २८ वैशाख २०८२, आइतबार

तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको व्यापार

blog

पश्चिम नेपालको मुख्य नाका, नेपालगन्ज जमुनाहा नाका ।

सिराज खान 

नेपालगन्ज, मङ्सिर ५ गते । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको वैदेशिक व्यापार भएको छ ।नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार भएको हो । 

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले यहाँबाट हुने वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतले ओगटेको जनाउँदै अन्य २० देशसँग पनि व्यापार भएको बताउनुभयो । 

उहाँले यो नाका हुँदै भारत, बेलायत, मलेसिया, म्यानमार, चीन, भियतनाम, बेल्जियम, इटाली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, साउदी अरेबिया, सिङ्गापुरसहित २१ देशबाट सामान आयात भएको बताउनुभयो । 

यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यानमारसँग मात्रै निर्यात व्यापार हुने गरेको भन्सार प्रमुख विकको भनाइ छ । 

भन्सार कार्यालय नेपालगन्जका अनुसार यो नाका हुँदै भारत लगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुनेगरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदैआएको छ ।

भारतबाहेक म्यानमार र युनाइटेड अरब इमिरेट्समा जडीबुटी निकासी हुने गरेको जडिबुटी व्यवसायी संघले जनाएको छ । नेपाल जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले नाकामा निकासी प्रक्रियालाई अझै सहज र सरल बनाउने हो भने ठूलो परिमाणमा जडिबुटी निर्यात गर्न सकिने बताउनुभयो । 

सोही प्रकारले केएल दुगडजस्ता ठूला खाद्य उद्योगले विगतमा अष्ट्रेलिया पिठो निर्यात गर्ने गरे पनि त्यो नियमित हुन सकेको छैन । बङ्गलादेशमा चामल निर्यात हुने गरेको व्यवसायीको भनाइ छ । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले उत्पादन सामग्रीको वृद्धि र भन्सारको स्तरोन्नतिले निर्यात व्यापारमा प्रभाव पार्ने बताउनुभयो । उहाँले नेपालगन्जमा निर्माण भएको एकीकृत भन्सार जाँचचौकी चाँडै सञ्चालन गर्न सके निर्यात व्यापारमा देखापरेका झन्झट समाधान हुने बताउनुभयो । 

पछिल्लो पटक नेपालगन्ज नाकाबाटै प्लाइउड ठूलो मात्रामा निर्यात भएको बताउँदै उपाध्यक्ष ओलीले निर्यात हुने सामग्रीको पहिचान गरी त्यसको उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।