• १२ साउन २०८१, शनिबार

'एक चिहान' नाटक मञ्चनको तयारी

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर ५ गते । पोखरा थिएटरमा ‘एक चिहान’ नाटक मञ्चनको तयारीमा छ । नाटकको अहिले ‘रिहर्सल’ भइरहेको छ । ‘एक चिहान’ साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेको उपन्यास हो । यो उपन्यासका माध्यमबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरुले भोग्नुपरेका यातना, किसानहरु माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्ग निर्देश गर्नुभएको छ ।

जसको अनुभूति नाटक हेर्दा पाइने उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन गर्नुभएका परिवर्तन कार्कीले बताउनुभयो । उहाँका अनुसार नाटकमा हरिदेवी कोइरालाको असारे गीतसमेत समावेश गरिनेछ ।

"वि सं २०११ सालतिरको निम्नवर्गीय जीवनको यथार्थला  एक चिहान नाटकमा प्रस्तुत गरिएको छ । गरिबी, बाध्यता र विवशताको परिवेशमा निम्नवर्गीय जीवनका जटिलता र सङ्घर्ष प्रस्तुत भएको नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्व बनाउने प्रयासमा लागिपरेका छौं," परिवर्तनले भन्नुभयो । 

पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन हुने नाटकमा अष्टनारानको भूमिकामा जनक पराजुली, लतमायाको भूमिकामा रोशनी रामदाम, शिवनारानको भूमिकामा रविन्द मल्ल, हाकुमायाको भूमिकामा उमा पुन, पुननारानको भूमिकामा गोपाल भुसाल, सुन्तलीको भूमिकामा रञ्जु दाहाल, हर्षनारानको भूमिकामा सुसन पौडेल तथा मिलन श्रेष्ठ, नानीथकुंको भूमिकामा दिप्सना विश्वकर्मालाई हेर्न पाइनेछ ।

यसैगरी, रत्नमानको भूमिकामा धनकाजी श्रेष्ठ, रामखेलावन रावतको भूमिकामा प्रतिक घिमिरे, गोदत्तप्रसादको भूमिकामा सुशील बराल, गुठियारको भूमिकामा प्रतीक घिमिरे, रोहित पौडेल, प्रथम श्रेष्ठ, रामबहादुरको भूमिकामा धनकाजी श्रेष्ठ, रमेशबाबु तिमल्सिना, रञ्जनादेवीको भूमिकामा सोनिया कार्की खत्री, तामाङ बुहारीको भूमिकामा अनुषा परियार, बिरामीको भूमिकामा प्रतीक घिमिरे, बिरामीका आफन्तको भूमिकामा रोहित पौडेल तथा प्रथम श्रेष्ठले अभिनय गर्दै हुुनुहुन्छ । 

मङ्सिर १० गतेदेखि आगामी पुस ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने नाटक हेर्नको लागि विद्यार्थीले २ सय रुपियाँ तिर्नुपर्नेछ । शनिबार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन गर्ने थिएटरको तयारी छ । विद्यार्थीलाई लक्षित गरेर मञ्चन गर्न लागिएको यो नाटक बुकिङ शोमार्फत मञ्चन गर्ने पोखरा थिएटरको तयारी छ।