• ११ मंसिर २०८१, मङ्गलबार

सधैँ भूकम्पको त्रास

blog

पृथ्वी सतहमा विभिन्न किसिमका घटना निरन्तर भइरहन्छन् । यी घटनालाई दुई भागमा राखेर हेर्दा बुझ्न सजिलो हुने देखिन्छ । यी घटना हुन्, प्रकृतिजन्य र मानवजन्य । प्रकृतिजन्य घटनाभित्र ज्वालामुखी, भूकम्प, भूस्खलन, बाढी, सुक्खा, चक्रवात, हिमपात, शीतल पर्छन् भने मानवजन्य घटनाभित्र अकाल, युद्ध, दङ्गा, महामारी, आतङ्कवाद, विषाक्त रसायन आदि आउँछन् । भूकम्प प्राकृतिकजन्य र मानवीयजन्य दुवै घटनाभित्र पर्दो रहेछ । यसबाट कमै समयमा निकै बढी जनधनको क्षति हुन जान्छ । भूकम्प एउटा यस्तो घटना हो जसको अगाडि सबै प्राणी मूकदर्शक भएर बस्नुबाहेक अर्को कुनै विकल्प हुँदैन । विश्वका मध्यवर्ती एसिया, जापान, पश्चिमी एसिया र एन्डिज बढी प्रभावित प्रदेश हुन् । भूसंरचनाको दृष्टिले हाम्रो देश पृथ्वीको एउटा नवीन हिस्सा हो । यो अहिले पनि आफ्नो निर्माणको अवस्थामा छ । अतः सन्तुलनको दृष्टिकोणले हेर्दा अहिले पनि अस्थिर क्षेत्र मानिन्छ । यसै कारणले यस क्षेत्रमा सबैभन्दा बढी भूकम्प आइरहन्छ । 

यस क्षेत्रलाई भूकम्पीय क्षेत्र किन भनिन्छ भन्ने कुरालाई बुझ्न भूसन्तुलन सिद्धान्त (आइसस्टैसी थ्योरी) तिर जानुपर्ने हुन्छ । यसमा हिमालय पर्वतको तल कम घनत्व भएका पदार्थ छन् भने ठुलो मैदानी भाग (सिन्धुगङ्गाका मैदान) को तल अधिक घनत्व भएका पदार्थ छन् । यसै कारणले यी भाग सन्तुलित देखिन्छन् । यस कुरालाई पहिलो व्याख्या गर्ने भूशास्त्री अमेरिकी निवासी ‘डटन’ थिए । उनका अनुसार यी भागका बिच सन्तुलन घटबढ हुँदा पृथ्वीका यी भागमा हलचल उत्पन्न हुन्छ जसलाई हामी भूकम्प भन्छौँ । यसको प्रत्यक्ष उदाहरण हाम्रो हिमालय पर्वतमालालाई लिन सकिन्छ । 

हिमालय पर्वतको स्थानमा कुनै समय टेथिस नामक विशाल महासागर थियो र गङ्गा सिन्धु मैदानी भागको ठाउँमा विशाल द्रोणी थियो । अतः प्रस्ट छ कि विनाशको यो कार्य आन्तरिक र बाह्य शक्तिहरूद्वारा निरन्तर प्रतिपादित भइरहन्छ । अहिलेको हिमाली भाग भोलि पुनः महासागरमा परिवर्तित पनि हुन सक्छ कि ! यसको निकै ठुलो भाग बगेर बङ्गालको खाडीमा थुपरिँदै गएको देखिन्छ । यस्ता थुपारिएको पदार्थबाट एउटा टापुनै निर्माण भएको छ जसलाई ‘न्युमुरे’ टापु भनिन्छ । यसरी पृथ्वीले आफ्नो सन्तुलन मिलाउँदा पृथ्वीमा हलचल पैदा निरन्तर भइरहन्छ ।

आधुनिक मत यी मान्यताभन्दा ठिक विपरीत छ । भूगर्भशास्त्रीहरूका अनुसार भूकम्प केही विशिष्ट कारणबाट हुँदा रहेछन् । यी कारणमा ज्वालामुखी विस्फोटन, भूसन्तुलनमा बिग्रिनु, सतह टुव्रिmनु, सतह खुम्चिनु, जलीय भार, गैसहरूको फैलावट, भूस्खलन, भूमिमा बम बिस्फोट आदि रहेका छन् । यो दुःखदायी घटना हुँदा रहेछ । यसलाई मापन गर्ने यन्त्रलाई सिस्मोग्राफ यन्त्र भनिन्छ । भूकम्पको गहनता (म्याग्निच्युड) १–१० अङ्कमा विभक्त गरिएको छ । यसमा ५.५ देखि ८.०० सम्मलाई सर्वनाशी भनिन्छ भने ८.१ भन्दा माथिलाई प्रलयकारी भनिन्छ । 

यसले क्षणभरमै मानव निर्मित संरचना ध्वस्त बनाइदिन्छ । रातमा आउने भूकम्पले भागेर ज्यान जोगाउने अवसर पनि दिँदैन । यस शताब्दीको भयङ्कर भूकम्पको सङ्ख्या ४५ रह्यो भने २२ लाख मानिसले ज्यान गुमाएका थिए । यसबाट अर्बौं डलरको सम्पत्ति नष्ट हुन गएको थियो । भारत र नेपालका हिमाली क्षेत्र बढी भूकम्प प्रभावी क्षेत्रभित्र आउँछन् । नेपाल भूधरातलीय एवं भौगर्भिक हिसाबले भूकम्पीय जोखिममा पर्ने देश हो । हाम्रा दुई छिमेकी देश भारत र चीनसमेत भूकम्प प्रभावित क्षेत्रभित्र पर्छन् । सन् १९७६ मा चीनको राजधानी बेइजिङमा रहेको तिहानसेनमा गएको भूकम्पमा परी सात लाख ५० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । त्यस्तै भारतको गुजारातमा गएको भूकम्पका कारण लगभग ३० हजार मानिसको मृत्यु भएको थियो । यी दुवै भूकम्पमा लाखौँ मानिस घाइते हुनुका साथै अर्बौं धनसम्पत्ति नाश भएको थियो । अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा २२ मे १९६० मा गएको थियो, जो ८.९ रेक्टर स्केलको थियो । 

नेपालमा ५.० रेक्टरभन्दा माथिका भूकम्पबाट बढी क्षति भएको देखिन्छ । वि.सं. २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । २०८० कात्तिक १७ गते पश्चिम नेपालको जागरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । यसबाट ३५ हजार मानिस घरबारविहीन भएका हुन् भने तीमध्ये १७ हजार सात सय घर पूर्ण रूपमा भत्केका र १७ हजार पाँच सय घर आंशिक रूपमा चर्केका छन् । यस भूकम्पमा परी  १५३ जनाको ज्यान गएको छ भने तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् । यस्तै २६४ जना घाइते भएका छन् । यस भूकम्पपछि त्यस क्षेत्रमा हालसम्म चार म्याग्निच्युडभन्दा माथिका पराकम्पन आइरहेको त्यहाँका सम्बन्धित अधिकारीले जनाएका छन् ।

नेपालमा हिमालदेखि तराईसम्म प्राकृतिक स्रोत साधनलाई अति दोहन गरेका कारणले अहिले पहाड नाङ्गो भई आफ्नो अस्तित्व जोगाउन लडिरहेको छ । अहिले वर्षाको समयमा मात्र पहिरो आउँदैन बरु सुक्खा मौसममा पनि भूस्खलन लगातार हुन लागेको देखिन्छ । नेपालमा जङ्गलले पहाडी क्षेत्रलाई जोगाएर राखेको थियो । जनसङ्ख्या अनियन्त्रित वृद्धिले गर्दा हिमाल, पहाड र तराई सम्पूर्ण भाग प्रभावित छन् । जथाभाबी बस्ती निर्माणले गर्दा नेपालनै प्रभावित भएको अनुभव गर्न सकिन्छ । अब त अलि सुगमताको अवसरले हिमाल र पहाडबाट मानिस तराईमा आउन लाम लागेका छन् । उताका गाउँघर जे जति बाँचेका थिए, त्यहाँका मानिस पनि नजिकको नगरहरूमा आन्तरिक बसाइँसराइबाट तराई झरिरहेका छन् । यी सबै कारणले गर्दा पहाडी भूभागले पृथ्वीको सन्तुलन गुमाइसकेकाले पटक पटक भूकम्पको तरङ्ग आउनु स्वाभाविक देखिन्छ । 

हिमाल, पहाड, तराई सबै क्षेत्रलाई प्राकृतिक घटनाबाट जोगाउन ‘हरियो वन नेपालको धन’ जस्ता नारालाई पुनः व्यवहारमा उतार्नु पर्छ । यसका लागि स्थानीय सरकार, प्रादेशिक सरकार र सङ्घीय सरकारका अठोट आउनु पर्छ । वनजङ्गलले वर्षालाई सन्तुलित बनाउँछ । पहाडी भूभागलाई जोगाइराख्न मद्दत गर्छ । हिमालय क्षेत्रको अवस्था निकै दयनीय देखिन्छ । हिमालयमा भएको हिउँ पग्लेर कालो धब्बा भएको पहाड देखिन थालिएको छ । पर्यटकलाई हिमाल चढ्न अनुमति त दिइन्छ तर सरसफाइ नहुँदा पूरा हिमाली क्षेत्र फोहोरको डङ्गुर बन्दै गइरहेको देखिन्छ । यस्ता कुरा नियन्त्रण हुनु नितान्त जरुरी छ ।  

नेपालमा पटक पटक जोखिमपूर्ण भूकम्प आइरहेको देख्दा नेपाली निकै त्रास अनुभव गरिरहेका छन् । अहिले यस्तो त्रासदीय जीवन पश्चिम नेपालमा बढी भए पनि पूरै नेपालको कुन भागलाई आफ्नो चपेटामा कति बेला लिने हो ठेगान छैन । पूर्वदेखि पश्चिमसम्म पूरै नेपाललाई आफ्नो क्षेत्र बनाएको देख्दा जहाँ गए पनि एउटै किसिमको भूकम्पीय त्रासदीका कुरा सुन्न पाइन्छ । भूकम्पले कसैलाई छोड्दैन । एक्कासि आउने हुनाले जो कोही पनि यसको प्रकोपमा पर्न सक्छ । नेपालमा निरन्तर भूकम्प जाने गरेकाले नेपालको आर्थिक अवस्थासमेत प्रभावित भएको देखिन्छ । हुन त यसै हाम्रो आर्थिक अवस्था कमजोर छ । थप प्राकृतिक घटनाले अझ कमजोर बनाएको छ । 

नेपाल तीन प्राकृतिक क्षेत्र र सात राजनीतिक क्षेत्रमा विभाजित भए पनि एक क्षेत्रको आपत्विपतमा सबैले आफ्नै पीडा सम्झी सके जति मद्दत गर्न पछि पर्दैनन् । विसं २०४५, २०७२ र २०८० को भूकम्पमा देखिएका यस्ता सहयोगलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । यस्ता जोखिम कालमा हाम्रा छिमेकी देश भारत र चीनसमेत सहयोगमा पछि पर्दैनन् । विश्वका अनेक देश सहयोग गरेकै छन् । यस्ता सहयोगलाई सही रूपमा प्रयोग गरी घरविहीनलाई जतिसक्दो चाँडो घर निर्माण गरी वितरण गर्नु सरकारको पहिलो काम हो । अब उप्रान्त यस्ता भूकम्पबाट कसरी लड्न सकिन्छ त्यसबारे पनि एउटा ठोस योजना बनाई लागु गर्दा नेपालीमा रहेको त्रासलाई केही कम गर्न सकिन्छ कि ! 

   

Author

डा. रामसागर पण्डित