• १४ मंसिर २०८१, शुक्रबार

दाङमा सुन्तलाको व्यावसायिक खेती

blog

घोराही समाचारदाता

घोराही, मङ्सिर ५ गते । दाङको बङ्गलाचुलीमा गरिएको व्यावसायिक सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको छ । बङ्गलाचुली गाउँपालिका–५, साकिने गाउँमा गरिएको सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको हो ।

पाँच वर्षअघि साकिने गाउँलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नका लागि बङ्गलाचुली गाउँपालिकाले १० लाख रुपियाँ र प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ४० लाख रुपियाँ सहयोग गरेपछि स्थानीय सुन्तला खेतीमा जोडिएका हुन् । प्रदेश र स्थानीय सरकारको सहयोगमा सुन्तला खेती गरेका स्थानीय बोटमा सुन्तला फल्न थालेपछि खुसी भएका छन् ।

पाँच वर्षअघि रोपेका बिरुवामा सुन्तला फल्न थालेपछि खुसी लागेको बङ्गलाचुली गाउँपालिका–५, साकिने निवासी मेघबहादुर रावत बताउनुहुन्छ । सुन्तला रोप्नुअघि रावतले पाखोबारीमा मकै, गहुँ, तोरी खेती गर्दै आउनुभएको थियो । 

पाखोबारीमा अन्नबाली पनि राम्रो उत्पादन नहुने र भएको पनि जङ्गली जनावरले खाने भएपछि सुन्तला खेती गर्न थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पाखोबारी भएको र सिँचाइको पनि सुविधा नहुँदा अन्न खासै राम्रो हुँदैनथ्यो तर सुन्तला रोपेको राम्रो फल्न थालेको छ ।”

एक पटक रोपेको सुन्तला वर्षौंसम्म फल्ने र अन्य बाली जस्तो दुःख नहुने भएकाले सुन्तला खेतीमा लागेको बङ्गलाचुली गाउँपालिका–५, साकिने निवासी टोपबहादुर पुन बताउनुहुन्छ । खाद्यान्न उत्पादनका हिसाबले कमजोर रहेको र फलफूलका लागि राम्रो क्षेत्र मानिएकाले सुन्तला खेतीमा लागेको भन्दै उहाँले भन्नुभयो, ‘मकै, गहुँलगायतका कृषि बालीभन्दा फलफूलका माध्यमबाट राम्रो आम्दानी लिन सकिने भएपछि पाँच वर्षअघि सुन्तला रोपेको थिए, अहिले फल्न थालेका छन् । फल पनि राम्रो लागेकाले आम्दानी हुने आशा छ ।”८० घरधुरी रहेको गाउँका प्रायः सबै घरका मानिसले सुन्तला खेती गरेको बङ्गलाचुली गाउँपालिका–५ का अध्यक्ष लीलाबहादुर घर्ती बताउनुहुन्छ । 

भिरालो जमिन भएकाले मकै, गहुँ, जौ, कोदोलगायतका बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले गाउँलाई नै सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्न थालिएको उहाँले बताउनुभयो । पहिलेदेखि नै गाउँमा अधिकांशका घरमा एक/दुई वटा बोट भएको र ती बोटमा राम्रो फल्ने गरेकाले नै व्यावसायिक रूपमा अघि बढेको किसानसमेत रहनुभएका वडाध्यक्ष घर्ती बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “सिँचाइको सुविधा नहुने भिरालो जमिनका कारण खासै राम्रो अन्नबाली हुँदैनथ्यो तर सुन्तला भने राम्रो फल्ने गरेको थियो । हावापानीका हिसाबले समेत सुन्तलाका लागि साकिने उपयुक्त भएकाले धेरै किसान जोडिएका छन् ।” 

वडाध्यक्ष घर्तीमगरका अनुसार पहाडी कृषि सहकारी संस्थामार्फत गाउँका किसानहरू सङ्गठितसँगै व्यावसायिक रूपमा सुन्तला उत्पादनमा लागेको बताउनुभयो । उहाँका अनुसार करिब ५० घरधुरीले व्यावसायिक रूपमा २५ हजारभन्दा बढी सुन्तलाका बिरुवा रोपेका छन् ।

किसानले जिल्लामै पहिलो पटक व्यावसायिक रूपमा सुन्तला उत्पादन गरेपछि पालिकाले सुन्तलाको बजारीकरणमा सहयोग गर्ने बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन बताउनुहुन्छ । 

गाउँपालिकाका अध्यक्ष पुनले भन्नुभयो, “जिल्लामै पहिलो पटक साकिनेमा सुन्तला उत्पादन हुन थालेको छ । यो पालिकाको गौरवको कुरा पनि हो । हामीले स्थानीय उत्पादनलाई ध्यानमा राख्दै किसानले सहयोग मागेमा बजारीकरणमा सहयोग गर्न तयार छौँ ।” सुन्तला खेतीबाट उत्साहित किसान र खेतीका लागि प्राविधिक ज्ञान तथा उत्पादित वस्तुको बजारीकरण हुन सके साकिनेलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने किसान बताउँछन् ।