• ५ जेठ २०८१, शनिबार

विपिनलाई हमासले बन्धक बनाएको इजरायली सेनाद्वारा जानकारी

blog

काठमाडौँ, मङ्सिर ५ गते । इजरायलमा आक्रमण गर्ने हमास समूहले बन्धक बनाएकामा नेपालका विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सले जानकारी दिएको छ । 

इजरायलस्थित नेपाली दूतावासलाई दिइएको जानकारी अनुसार इजरायलको किबुज अलुमिनमा हमास समूहले आक्रमण गरेर बन्धक बनाएर लगेको समूहमा नेपालका जोशी रहेको बताइएको हो । सो आक्रमण भएका बखत रेकर्ड भएको सिसिटिभी फुटेजको हवाला दिँदै इजरायली डिफेन्स फोर्सले सो फुटेजमा जोशी देखिएको दाबी गरेको हो । फेर्सका प्रवक्ताले सोही फुटेजका आधारमा जोशी हमास समूहले बन्धक बनाएको टोलीमा रहेको दाबी गर्नुभएको छ तर नेपाल सरकारसँग हमास समूहको कुनै पनि आधिकारिक कुराकानी नभएकाले सो फुटेजका बारेमा प्रस्ट भएको छैन । 

इजरायलस्थित नेपाली दूतावासले पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको जनाएको छ । जोशी हालसम्म सम्पर्कविहीन नै रहेको दूतावासले जानकारी दिएको छ । जसका कारण उनको खोजीकार्य जारी रहेको र अवस्था र सत्यतथ्य सार्वजनिक गर्न इजरायल सरकारसँग माग गरिएको दूतावासले जनाएको छ ।

गत अक्टोबर ७ मा इजरायलमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा परेर नेपालबाट कृषि अध्ययन गर्न गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो । जोशी सोही बेलादेखि बेपत्ता छन् । नेपाल सरकारले जोशीको खोजी र रिहाइका लागि अपिल गरेको छ ।