• २२ मंसिर २०८०, शुक्रबार

काष्ठकलाका धनी जग्गुलाल ओझेलमा

blog

काठबाट मूर्ति बनाँउदै जग्गुलाल चौधरी । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, मङ्सिर ४ गते । उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आउनुभएको छ । पाँच दशक बढी समयदेखि मूर्तिकलामा लाग्दै आउनुभएका घोराही उपमहानगरपालिका–५ ठूलोगाउँ धर्ना निवासी जग्गुलाल सधैँ ओझेलमा रहनुभएको छ । 

चौधरी काष्ठकलामा अब्बल हुनुहुन्छ । सानोमा माटोका घोडा, हात्तीलगायत देवीदेवताका मूर्ति बनाउँदा बनाउँदै काष्ठकलामा लाग्नुभएका चौधरी बाटो वा जङ्गलमा हिँड्दा राम्रो काठ देख्दा मूर्तिको आकृति मनमा आइहाल्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बनाउँछु भनेर बन्दैन, काठ देखेपछि के बन्छ भनेर मनमा आउने गर्छ । अनि त्यहीअनुसार काठलाई छिना, बसुला र आरीले कुँदेर मूर्ति बनाउने गर्छु ।’ 

अन्य काम छाडेर भए पनि आफू मूर्ति बनाउने काममा लाग्नेगरेको बताउने चौधरीले पाँच दशकको अवधिमा थारु जातिका भेषभूषा, कला, संस्कृतिसँगै देवीदेवता, जनावर, चराचुरुङ्गीका धेरै मूर्तिहरू बनाएर बिक्री गरेको बताउनुभयो । काष्ठकला क्षेत्रमा अब्बल मानिने चौधरी सुरुका दिनमा खेलौनाका लागि माटोबाट मूर्ति बनाउने गर्नुहुन्थ्यो । 

माटोबाट मूर्ति बनाउँदा बनाउँदै उहाँ काठबाट मूर्ति बनाउन लागेको भन्दै चौधरीले भन्नुभयो, ‘सुरुमा त के नमिलेजस्तो लाग्थ्यो, तर पछि बिस्तारै हात बस्यो । अहिले कसैले अर्डर गर्याे भने त्यहीअनुसार मूर्ति बनाउन सक्छु ।’ 

आफू थारु समुदायको भएकाले सानोमा चाडपर्व, विवाह लगायतका उत्सवमा घरका लागि आवश्यक स–साना माटाका मूर्ति बनाएर सिक्नुभएका चौधरी पछि व्यावसायिक रूपमा मूर्तिहरू बनाएको बताउनुभयो । घरको कमजोर आर्थिक अवस्थाका कारण मूर्ति बनाउने मात्र काम नगरेर घरको कामसँगै पेसामा लागेको बताउनुभयो । घरको कामसँगै बनाएका मूर्तिहरू दुई हजारदेखि सात–आठ हजार रुपियाँ मूल्य सम्ममा बिक्री हुनेगरेको उहाँको भनाइ छ ।  

थारु समुदायसँग काठसम्बन्धी मूर्ति तथा चरा र सर्पसहितका वृद्ध मानिसले टेक्ने लट्ठी जिल्लाका विभिन्न ठाउँसँगै पोखरा, काठमाडौंलगायतसम्म बिक्री हुनेगरेको उहाँको भनाइ छ । वृद्ध उमेरमा टेक्नका लागि सजिलो र हेर्दा पनि आकर्षक देखिने भएकाले काठका लट्ठी धेरै बिक्री हुनेगरेको बताउनुभयो । कतिपय आफूले बनाएका थारु जाति, कला, संस्कृतिसम्बन्धी मूर्ति घोराही उपमहानगरपालिका–१७ पनौरामा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयमा राखिएका छन् । 

उहाँले पहिलेजस्तो मूर्तिहरू विक्री पनि नहुने भएकाले पनि खासै जाँगर नचलेको बताउँदै भन्नुभयो, ‘अहिलेजस्तो पहिले मूर्ति बिक्छन् भन्ने थाहा पाएको भए धेरै मूर्ति बनाउने थिएँ, त्यो बेला काठका मूर्ति बिक्दैन थिए, त्यसैले महत्त्व पनि खासै थिएन । अहिले काठमा कुँदिएका वा काठबाट बनाइएका मूर्तिको महत्त्व बढी भएर विक्री पनि हुने गर्छ ।’ 

चौधरीले यो अवधिमा करिब पाँचसय बढी मूर्ति बनाएर बिक्रीसँगै थारु संग्राहलय, मन्दिरलगायतका ठाउँमा दिएको बताउनुभयो । त्यसमध्येमा अधिकांश जनावर तथा चरा एवम् थारु जातिले लगाउने लुगा, बाघ, घोडा, थारु महिलाले आफ्ना भेषभूषामा सजिएका मूर्ति बिक्री हुनेगरेको बताउनुभयो ।  

सुरु–सुरुमा घोराही, तुलसीपुर लगायतका बजारबाट व्यापारी आएर मूर्ति किनेर लग्ने गरे पनि पछिल्लो समय बाहिरबाट पनि मानिसहरू किन्नका लागि वा अर्डर गर्नेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय मानिसले बनाएका मूर्ति लग्छन् भने केहीले मलाई यस्तो मूर्ति बनाइदिनुस् भनेर भन्नुहुन्छ, त्यहीअनुसार मैले मूर्ति बनाउनेगरेको छु ।’ 

पछिल्लो समय जङ्गलबाट काठ ल्याउन नपाइने र उमेर पनि बढ्दै गएकाले काठका मूर्ति बनाउन समस्या हुनेगरेको बताउनुभयो । उमेरमा जङ्गल जानेर काठ ल्याउन सक्ने अवस्था भए पनि अहिले जङ्गल गएर काठ ल्याउन नसकिने र त्यसैमा सामुदायिक वनले पनि काठ ल्याउन नदिने भएकाले मूर्ति बनाउन समस्या भएको उहाँको गुनासो छ ।