• १५ कात्तिक २०८१, बिहिबार

देउसी भैलीको रकम मिर्गौला बिरामीको उपचारमा

blog

देउसी भैलीबाट उठेको रकम मिर्गौलाका बिरामीलाई हस्तान्तरण गरिँदैँ । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, मङ्सिर ४ गते । देउसी भैलीबाट सङ्कलन भएको दक्षिणा बापतको रकम बाँकेमा एक जना मिर्गौला रोगसँग जुधिरहनुभएका विरामीको उपचारका लागि हस्तान्तरण गरिएको छ ।

देउसी भैलीबाट सङ्कलन भएको ४० हजार रुपियाँ बाँकेको कोहलपुर नगरपालिका ड्राइभर टोलका प्रकाश विकलाई उपचारका लागि सहयोग स्वरूप प्रदान गरिएको हो । कोहलपुरस्थित १० बिघा युवा जागरण क्लब र खजुरास्थित सगरमाथा डान्स एन्ड इन्टरटेनमेन्टले संयुक्तरुपमा मिर्गौला रोगसँग लडिरहनुभएका विकलाई देउसीभैलीबाट सङ्कलन भएको रकम हस्तान्तरण गरेको हो ।

देउसी भैलीमा प्रत्यक्ष सहभागी खजुरा गाउँपालिकाका पूर्व उपाध्यक्ष एकमाया विक, खजुरा गाउँपालिका ४ का पूर्व अध्यक्ष तिलकवीर सुनार, युवा क्लबका सुरेश अधिकारी, काशी अधिकारी, करण शाह, दीपेन्द्र कुँवर, मदन विश्वकर्मा, युवराज बुढा, सुमन विश्वकर्मा र सगरमाथा क्लबका दिलु सुनारसहितको टोलीले विकको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।

सो अवसरमा खजुरा गाउँपालिकाका पूर्व उपाध्यक्ष विकले तीन हजार र पूर्व वडा अध्यक्ष सुनारले पाँच हजार रुपियाँ विकको उपचारका लागि सहयोग प्रदान गर्नुभयो ।