• ४ जेठ २०८१, शुक्रबार

माइभ्याली गोल्डकप धकेलियो, इलाम गोल्डकप माघमा

blog

गोल्डकप आयोजना गर्न पत्रकार सम्मेलन गर्दै माइभ्याली फुटबल क्लब र रेडहर्षका पदाधिकारीहरू ।

कोकिला ढकाल

इलाम, मङ्सिर ४ गते । इलाममा बर्सेनि हुँदै आएको माइभ्याली गोल्डकप प्रतियोगिता यो वर्ष तोकिएको तालिकाभन्दा पछाडि धकेलिएको छ । इलाममै अर्को प्रतियोगिता इलाम गोल्डकपको तालिका सार्वजनिक भएसँगै माइभ्यालीलाई पछि सारिएको हो । 

आगामी माघ ६ गतेदेखि १३ गतेसम्म रेडहर्ष इलामले इलाम गोल्डकप आयोजनाको तयारी थालेसँगै माइभ्यालीलाई केही समयपछि आयोजना गर्ने निर्णय गरिएको माइभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले बताउनुभयो । माइभ्याली र रेडहर्ष दुवैले सोमबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै इलाम गोल्डकपको पहिलो संस्करणलाई दुवै क्लब भएर सम्पन्न गर्ने र केही समयपछि माइभ्यालीलाई पनि दुवै मिलेर सम्पन्न गर्ने सहमति गरिएको जनाएका छन् । यसअघि आगामी फागुन २४ देखि चैत ३ सम्म माइभ्याली गोल्डकपको मिति तय गरिएको थियो । 

दुवै प्रतियोगितालाई आर्थिक स्रोत सङ्कलन, दर्शकको आकर्षण, सहभागी टिमको अवस्था लगायतका विषयहरूको विश्लेषण गरेर तत्काल एउटा प्रतियोगिता मात्र गर्न उचित रहेकाले पनि इलाम गोल्डकपलाई प्राथमिकता दिइएको अखिल नेपाल फुटबल सङ्घ एन्फाका पूर्व सदस्य निरोज खड्गीले बताउनुभयो । 

यता मागको पहिलो साता आयोजनाको तयारी गरिएको इलाम गोल्डकपका लागि भने सहभागी टिमहरूको समेत टुङ्गो लागि सकेको जनाइएको छ । उक्त प्रतियोगितामा एनआटी काठमाडौँ, बागमती युथक्लब, चर्चवोइज, सुनसरी, झापा र भारतीय तथा आयोजक रेडहर्ष गरी आठ वटा टिम सहभागी हुने रेडहर्षका अध्यक्ष साङ्गे लामाले बताउनुभयो । प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपियाँ र उपविजेताले नगद तीन लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । 

गोल्डकपका लागि इलाम बजारस्थित ठुलो टुँडिखेललाई भोलिदेखिनै मर्मत सुरु गरिने जनाइएको छ । खेलमैदान मर्मतका लागि कोशी प्रदेश सरकारले ५० लाख रुपियाँ र खेलकुद मन्त्रालयबाट ५० लाख रुपियाँ छुट्टिएको फुटबल सङ्घ एन्फाका पूर्व सदस्य खड्गीले बताउनुभयो ।