• १५ कात्तिक २०८१, बिहिबार

सहिद चन्द्र मार्गको शिलान्यास

blog

फाइल तस्बिर

झापा, मङ्सिर ४ गते । बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिलान्यास गर्नुभएको छ ।

बिर्तामोड नगरपालिका-४ देखि वडा नम्बर ३ को आदर्श चोक नडियाबारी हुँदै वडा नम्बर ९ को हल्दिबारी गाउँपालिकाको सम्झना चोकसम्म जोड्ने एक हजार दुई सय मिटर लम्बाइको सडकको सभामुख घिमिरेले शिलान्यास गर्नुभएको हो । 

सो अवसरमा उहाँले निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । सडक बोर्डले गत वर्ष विनियोजन गरेको एक करोड र चालु आर्थिक वर्षको एक करोड १० लाख गरी दुई करोड १० लाखको लागतमा सडक निर्माण हुन लागेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताउनुभयो । 

पौडेलका अनुसार सडक बोर्डले मुलुकमा विशेष महत्वका सडकलाई लक्षित गरेर बजेट विनियोजन गर्दै आएको छ । उहाँले पहिलो चरणमा बन्ने चार सय ५० मिटरको सडकको गत कात्तिक २० गते जनकपुरको एसडीएम कन्स्ट्रक्सन कम्पनीसँग ६० लाखमा वि.सं.२०८१ असार मसान्तसम्ममा सकिने गरी ठेक्का सम्झौता भइसकेको जानकारी दिनुभयो । बाँकी आठ सय मिटर सडक एक करोड १० लाखको रकममा बन्ने गरी टेन्डर प्रक्रियामा गइसकेको उहाँको भनाइ छ । रासस