• १३ मंसिर २०८१, बिहिबार

भेरी अस्पतालबाट ५२ जना घाइते डिस्चार्ज

blog

भेरी अस्पताल नेपालगञ्ज ।

गोविन्द शर्मा

बाँके, मङ्सिर ४ गते । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगन्जबाट घर फिर्ता भएका छन् । भूकम्पका घाइतेहरूको उपचार तथा अन्य व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले गठन गरेको समितिका फोकल पर्सन स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार भूकम्पपछि भेरी अस्पतालमा उपचारका लागि जाजरकोट, पश्चिम रुकुम र सल्यानका गरी ६० जनालाई भर्ना गरिएको थियो । अधिकांश बिरामी निको भई घर फिर्ता भएपछि अब चारजना मात्रै उपचाररत रहनुभएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले भन्नुभयो, "हाल अस्पतालमा जाजरकोटका २ जना र रुकुम पश्चिमका २ जना गरी चारजना मात्रै उपचाररत रहनुभएको छ ।" उपचारका लागि ल्याइएकामध्ये ३ जनालाई अन्यत्र अस्पतालमा रिफर गरिएको छ भने एकजनाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । भेरी अस्पतालका अनुसार पछिल्लो ६ दिनयता भूकम्पमा परि घाइते भएका बिरामीहरू अन्यत्र अस्पतालबाट समेत रिफर भई आएका छैनन् । 

घाइते बिरामीहरूको पूर्णरूपमा निःशुल्क उपचार गरिएको समितिले जनाएको छ । यसैगरी, बिहान साँझ खानाको पनि निःशुल्के व्यवस्था मिलाइएको छ । डिस्चार्ज हुने बिरामीलाई सम्बन्धित स्थानीय तह र यातायात व्यवसायी समितिसँग समन्वय र सहकार्य गरी घर पठाउने व्यवस्था मिलाइएको समितिले जनाएको छ । उनीहरूका लागि घरमा तत्कालका लागि आवश्यक सामग्री समेत व्यवस्था मिलाएर पठाउने गरिएको छ ।