• २१ असार २०८१, शुक्रबार

सैनामैनामा बुधबारदेखि औद्योगिक व्यापार महोत्सव हुँदै

blog

छैटाैं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, मङ्सिर ४ गते । 
रुपन्देहीको सैनामैनामा मङ्सिर ६ गतेदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ ।

सैनामैना उद्योग वाणिज्य सङ्घको आयोजनामा सैनामैना नगरपालिका–३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा हुने महोत्सव मङ्सिर १७ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवको तयारी तीव्र गतिमा भइरहेको महोत्सव आयोजक सैनामैना उद्योग वाणिज्य सङ्घले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिने बताउनुभयो ।

उहाँले सैनामैना पुरातात्त्विक क्षेत्रको ऐतिहासिक स्थल पनि भएकाले महोत्सवबाट उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका महासचिव लोकनाथ अधिकारीले महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी, स्थानीय कृषि उत्पादनको प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रदर्शनी हुने बताउनुभयो ।

महासचिव अधिकारीका अनुसार महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण गर्न मद्दत पुग्नुका साथै स्थानीय उत्पादन र कृषिको प्रदर्शनी गरिने छ ।

उहाँले विगतको भन्दा यसपटक फरक तरिकाले महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो ।  महोत्सवमा युवा उद्यमशीलता गोष्ठी तथा युवा उद्यमी सम्मान कार्यक्रम गरिने आयोजकले जनाएका छन् ।

त्यस्तै, महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरूको प्रचार प्रसार, पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावनाबारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।

महोत्सवको आकर्षणको रूपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नगरस्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, डान्सिङ आइडल, मम्मी डान्स प्रतियोगिता पनि रहनेछन् ।

यसैगरी, भजन प्रतियोगितासँगै लोकदोहोरी र र्‍याप गीत प्रतियोगिता पनि महोत्सवको आकर्षण हुने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक कृष्ण पोखरेलले बताउनुभयो ।

महोत्सवको साढे तीन लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन् ।

महोत्सवमा सर्वसाधारणका लागि ८० रुपियाँ र विद्यार्थीहरूका लागि ५० रुपियाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका, असहायका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सवले सैनामैनासँगै यस क्षेत्रको उद्योग व्यापार र लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन् ।

महोत्सव स्थलमा अहिले मञ्च निर्माण, स्टल व्यवस्थापनलगायतका काम भइरहेको छ ।