• १४ मंसिर २०८१, शुक्रबार

इलाम बस दुर्घटना अपडेट

मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), मंसिर ४ गते । इलामको रोङ गाउँपालिका–३ कोल्बुङको अर्याल चोकमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका–९ धारापानी का ६० वर्षीया शान्तमाया तामाङको गए राति र ३५ वर्षीया मनवती लामाको आज उपचारकै क्रममा झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको हो । धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले यो सँगै बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको जानकारी दिनुभयो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । जसमध्ये तीनको मृत्यु भइसकेको छ । 

३३ जनाको हाल वीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । धनुषाबाट इलामको कन्याम घुम्न आएको ना. ६ ख ८४२४ नम्बरको बस फर्कनेक्रममा सडकबाट अन्दाजी तीनसय मिटर तल खसेको थियो । 

बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । मोटरसाइकल जोगाउन खोज्दा बस सडकबाट भिरमा खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।