हरिकृष्ण ऐडी
मुगु, मङ्सिर ४ गते । मुगुको छायाँनाथ रारा नगरपालिका अन्तर्गत–४ भामवाडा निवासी अग्निपीडित कुनतरी रावलको परिवारलाई सहयोग प्राप्त भएको छ ।
अमेरिकाको कोलोराडो नेपाली परिवार समाजका सदस्य हिक्मत रावलको नेतृत्वमा अग्निपीडित देवीराज रावललाई अमेरिकाको कोलोराडो नेपाली परिवार समाजको तर्फबाट नगद एकलाख ५२ हजार ५२५ रुपियाँ सोमबार छायाँनाथ रारा नगरपालिकाको कार्यालयमा नगर प्रमुख विष्णुकुमार भामको हातबाट सो राहत रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
अमेरिकाको कोलोराडोमा बसोबास गर्दैआएका नेपाली समुदायका अमेरिकन आर्मीमा कार्यरत नेपाली परिवारले स्थापना गरेको सानो कोलोराडो नेपाली परिवार समाजमा दसजना सदस्य आबद्ध भएको समाजको पहलमा उक्त राहतस्वरुप रकम सङ्कलन गरी अग्निपीडितलाई सहयोग गरिएको हिक्मत रावलले बताउनुभयो ।
यो समाजले अमेरिकाको कोलोराडोमा बसोबास गर्ने नेपालीजनमा भाइचारा हिसाबले सङ्गठित भई सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले यो समाजको स्थापना गरिएको हो ।
कामको सिलसिलामा आफ्नो भूमिभन्दा धेरै टाढा अमेरिकामा बस्दैआएका अमेरिकाको कोलोराडो नेपाली परिवार समाजका नेपाली बासिन्दाले अग्निपीडितको पीडालाई आफ्नै पीडा भन्दै सबैको सहयोगी हातले सहयोग गर्ने अमेरिकाको कोलोराडो नेपाली परिवार समाजका सदस्य हिक्मत रावलले जानकारी दिनुभयो ।
घर जलेर छिमेकीको घरमा बासका लागि ओत लाग्न बाध्य परिवारको गासका लागि र घर पुनः निर्माणका लागि कोलोराडो नेपाली परिवार समाजका सङ्गठित सदस्यले आफ्नो तर्फबाट क्षमताअनुसारको सानो सहयोग मात्र गरेको बताउनुभयो । सहयोग गरिएको रकम पीडित परिवारसम्म छिटो छरितो पुगोस् भन्ने उद्देश्यले गोरखापत्रकर्मी हरिकृष्ण ऐडीको खातामा सो राहत रकम जम्मा गरिदिएको बताउनुभयो ।
अग्निपीडित कुनतरी रावलले अमेरिकाको कोलोराडो नेपाली परिवार समाजको आर्थिक सहायताले अग्निपीडितलाई ठुलो राहत मिलेको बताउनुभयो । हामीजस्ता अग्निपीडित परिवारलाई अमेरिका कोलोराडो नेपाली परिवार समाजको सहयोगी हातले हामीजस्ता पीडितलाई राहतस्वरुप सहयोग गरिदिनुभएकोमा उहाँहरूको सहयोगी हातप्रति आफू निकै खुसीभएको बताउनुभयो ।
रावल परिवारलाई यसअघि छायाँनाथ रारा नगरपालिकाले राहतस्वरूप ३५ हजार नगद रुपियाँ त्यसैगरी नेपाल रेडक्रस शाखा कार्यालय मुगुबाट त्रिपाल, खाद्यान्न र भाँडाकुँडा सहयोग प्रदान गरिएको छ ।
गएको कात्तिक २३ गते अपरान्ह १२ बजेतिर मुगुको छायाँनाथ रारा नगरपालिका वडा –४ भामवाडामा विद्युतको तार सर्ट हुँदा सो घर जलेर नष्ट भएको थियो । तीन तलाको घरमा आगो सल्किएपछि घरभित्र रहेका लत्ताकपडा, कोदो, चामल, खानेकुरा, बालबालिकाका किताब त्यसैगरी नगद रुपियाँ र गरगहना जलेर सबै नष्ट भएको थियो ।