• १२ साउन २०८१, शनिबार

पर्यटकीय गन्तव्य बन्दै 'मानहुँकोट' (फोटो फिचर)

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर ४ गते । चिसो मौसम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । यहाँबाट दमौली वरपर बिहानै फैलने तलाउँ जस्तो कुहिरीमण्डल सेताम्य भुँवाको मैदानजस्तो देखिने भएकाले पर्यटक आकर्षित भएका हुन् ।

घाम बढ्दै कुहिरो खुल्दै गएपछि हिमालको शिरबाट चुहिएको पानी बगेको मादी नदी नागबेली परेको मनोरम दृश्य देखिन थाल्छ । पर हिमालले पहरा दिएको पृष्ठभूमिमा पहाडी हिमाली दृश्य देखिन्छ । मानहुँ उक्लँदा यस्तो मनोरम सुन्दर दृश्य देखिन्छ । यही दृश्य हेर्न यतिबेला मानहुँकोटमा कमिलाको जस्तै लस्करै मान्छेका ताँती देखिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दसैँ यता ह्वात्तै बढेको छ । दैनिक एक हजारको हाराहारीमा पर्यटक मानहुँ घुम्न आएको त्यहाँका पर्यटन व्यवसायीहरूले जानकारी दिएका छन् । 

पर्यटन व्यवसाय सुस्ताईरहेको अवस्था हाल आन्तरिक तथा बाह्य पर्यटकको भिड बढेपछि यहाँ सञ्चालित होटल व्यवसायीहरू उत्साहित हुन थालेको होटल भ्यु टावर सञ्चालक चूडामणि दाहालले बताउनुभयो । समुन्द्री सतहदेखि करिब १२ सय मिटर उचाइमा अवस्थित मानुङकोट सदरमुकाम दमौली बजारबाट करिब आठ किलो मिटर दुरी पश्चिम दिशामा पर्दछ । 

टाढाटाढाबाट आउने पर्यटकहरू सूर्योदय हेर्नका लागि अघिल्ला दिनमै होटलमा बास बस्न आउँछन् । बास बस्न आउने पर्यटकहरूले साँझको सूर्यास्तका साथै भोली पल्ट बिहानको सूर्योदयको मनोरम दृश्य हेरेर भरपुर मनोरञ्जन लिने गर्दछन् । दमौली बजार आसपासका मानिसहरू बिहान ५ बजे अगावै सूर्योदय हेर्न पुगिसकेका हुने छन् । अन्य दिनको तुलनामा बिदाको दिन अझ बढी मानिसहरूको भिड लागेको दाहालले जानकारी दिनुभयो । 


दमौली वरपर बिहानै फैलने तलाउ जस्तो कुहिरीमण्डल सेताम्य भुँवाको मैदान जस्तो देखिन्छ । घाम बढ्दै कुहिरो खुल्दै गएपछि हिमालको शिरबाट चुहिएको पानी बगेको मादी नदी नागबेली परेको मनोरम दृश्य देखिन थाल्छ । व्यास गुफा र पराशर आश्रम ग ढाक्ने गरी लाप्ने कुहिरो र सनराइजको रोनकले आन्तरिक पर्यटकहरूको ध्यान खिचेको हो । 

विशेषगरी दमौली बजार कुहिरोको घुम्टो ओढेको लोभलाग्दो दृश्य हेर्न यहाँ भिड लाग्छ । यस्तो दृश्य सूर्योदय र सूर्यास्तमा मनमोहक देखिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई धार्मिक प्रसङ्गसँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि व्यासका पिता पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धासँग सम्भोग गर्न लागेको समय लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको प्रसङ्गहरू उल्लेख छ । त्यही कुहिरोले गर्दा दसैँ यता पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न पुगेको छ । 

मानहुँकोट घुक्न आउनु भएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले भन्नुभयो, ‘जता हेर्‍यो त्यतै रमणीय छ मानहुँकोट, यो स्वर्गकै टुक्रा हो ।’ विभिन्न भागबाट मानहुँकोटमा आन्तरिक पर्यटकको भीड बढेको छ । मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ लगायतका हिमशृङ्खला देखिन्छ । सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम र निर्माण स्थल लगायतको मनोरम ठाउँ देखिन्छ । मानहुँबाट व्यास नगरपालिकाको १४ वटै वडा देखिन्छ । 


होटल व्यवसायी उत्साहित

मानहुँकोटमा पर्यटकको भिड बढेसँगै दमौली र आसपासका होटलमा व्यापार फस्टाएको छ । पर्यटकहरू बढेपछि होटल व्यवसायीहरू उत्साहित भएका छन् । पर्यटन व्यवसायी प्रेम राउतले भन्नभयो, ‘होटल बुक हुन थालेपछि उत्साह मिलेको छ ।’ बिदाको दिन धेरै पर्यटक आउने भएकोले भरिभराउ हुने गरेको राउत बताउनुहुन्छ । पाहुनालाई बास बसाल्ने क्षमताको होटल मात्रै नभएर दमौली आसपासमा साना चिया पसलमा पनि व्यापार बढेको छ । मानहुँकोटमा पर्यटकको चापले दमौलीका मोटरसाइकल वर्कसप सञ्चालक र टेन्ट भाँडामा दिनेको व्यापार बढेको छ ।