• २३ मंसिर २०८१, आइतबार

रुकुम पश्चिम जिप दुर्घटना : गम्भीर घाइते सात जनालाई थप उपचारका लागि रिफर

blog

चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा दुर्घटना भएको लु १ ज २२९७ नम्वरको जिप । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुम पश्चिम, मङ्सिर ४ गते ।
सोमबार बिहान रुकुम पश्चिममा जिप दुर्घटना हुँदा गम्भीर घाइते सात जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा घाइते चौरजहारी नगरपालिका– १४ का ४ वर्षीया डिला बिष्ट र सानीभेरी गाउँपालिका–२ निवासी सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढालाई थप उपचारका लागि एम्बुलेन्समार्फत नेपालगन्ज लगिएको छ ।

अन्य गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको छ । चौरजहारी नगरपालिका–१३ का मस्तबहादुर ओली, वडा नम्बर ११ का रणबहादुर ओली, वडा नम्बर १४ का प्रेम परियार, कविता परियार र वड नम्बर १० का प्रविर पुनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । क्षमताभन्दा बढी यात्रु बोकेको उक्त जिप अनियन्त्रित हुँदा करिब तीन सय मिटर तल खसेको थियो ।

दुर्घटना हुँदा जिपमा सवार २१ जना घाइते भएको प्रहरीको भनाइ छ । अन्य घाइते सबैको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।