• १३ मंसिर २०८१, बिहिबार

यारी भन्सारमा कर्मचारी अभाव

blog

यारी नाका भन्सार रहेको हिल्सा क्षेत्र । फाइल तस्बिर

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर ३ गते। नेपाल र चीनको यारी भन्सार कार्यालयका लागि कर्मचारी अभाव देखिएको छ। भन्सार विभागले आवश्यक दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था गर्न नसक्दा कर्मचारीको अभाव देखिएको हो। कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा राजस्व असुलीमा समस्या भइरहेको कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिनुभयो। उहाँले आफू एक जना मात्र कर्मचारी भएको कारण नाकामा गएर सामान चेक गर्ने वा कार्यालयमा बिल काट्ने भन्ने समस्या भएको बताउनुभयो। 

दरबन्दी अनुसारका कर्मचारी भए अझै राजस्व असुलीमा वृद्धि हुने बताउँदै पटकपटक विभागलाई कर्मचारी खटाई दिन पत्राचार र मौखिक आग्रह गर्दा सुनुवाइ नभएको बताउनुभयो। 

विभागलाई दरबन्दी अनुसार कर्मचारीको व्यवस्थाका लागि कार्यालयले माग गरेको भए पनि हालसम्म त्यो माग पुरा हुन सकेको छैन। एक जना खरिदारको दरबन्दी कार्यालयका लागि रहेको छ। दुई जना कार्यालय सहयोगी भए पनि लेखपढ गर्न नसक्ने भएको कारण राजस्व असुलीमा उहाँहरूबाट सहयोग हुनसक्ने अवस्था छैन। गत भदौ महिनामा प्रमुख जैसी कार्यालयको कामको सिलसिलामा काठमाडौँमा जानुपर्दा एक महिना राजस्व असुली हुन सकेको थिएन। 

चीनको पुराङ काउण्टीको ताक्लाकोटबाट विकास निर्माण, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीको बिल नआउने समस्याको कारण पनि राजस्व असुलीमा समस्या भोग्नु परेको उहाँले गुनासो सुनाउनुभयो। बिल नआएपछि सामानको मूल्याङ्कन गर्न कठिन हुने भएको कारण फोनबाट ताक्लाकोटमा सामानको मुख्य सोधेर राजस्व निर्धारण गर्नु परेको उहाँले बताउनुभयो। यता नेटको समस्याको कारण अनलाइनबाट पनि बिल काट्ने र इन्ट्री गर्न कार्यालयलाई समस्या रहेको छ।