काठमाडौं, मङ्सिर ३ गते । टर्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस सन्दिग्धलाई पक्राउ गरेको छ । टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको अपरेसनमा इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बद्ध १७ सन्दिग्धलाई पक्राउ गरेको इहलास समाचार एजेन्सीले जनाएको छ ।
पुलिसले आइएस चरमपन्थीसँग सम्बन्ध रहेको र समूहको विचारधाराअनुरूप तालिम प्रदान गरेको आशङ्कामा विदेशीहरूलाई लक्षित गरी नौ जिल्लाहरूमा छापा मारेको इहलासले बताएको छ । उनीहरूले १७ सन्दिग्धलाई नियन्त्रणमा लिएका छन् भने ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएका छन् ।
टर्किले २०१३ मा आईएसलाई आतङ्ककारी समूहको रूपमा सूचीबद्ध गरेको थियो । चरमपन्थी समूहले धेरै पटक आक्रमण गरेको छ । जवाफमा टर्की अधिकारीहरूले देश र विदेशमा आतङ्कवाद विरोधी अभियानहरू सुरु गरेका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल