• ७ जेठ २०८१, सोमबार

माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतिस्पर्धी

blog

पोखरा, मङ्सिर २ गते । पोखरामा हुने एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ११ देशका ५५ खेलाडीले भाग लिने भएका छन् । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–विजय डाँडामा प्रतियोगिता हुँदै छ ।

 प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले नेपालसहित ११ देशका ५५ जना सहभागी हुने पक्का भएको जानकारी दिनुभयो । “८८ जनाले सुरुवातमा दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्ने टुङ्गो लागेको छ । अर्को ठाउँमा हुने प्रतियोगिताको समय जुधेकाले केही सहभागी आउन सक्नुभएन,” उहाँले भन्नुहुन्छ । 

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स क (३०–३९ वर्ष), मास्टर्स ख (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा इ–बाइक गरी सात विधामा प्रतिस्पर्धा हुनेछ । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दाबी छ ।

खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउन प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले बताउनुहुन्छ । सो क्षेत्रमा संरचना बनाउन ५० लाख रुपियाँ लगानी भइसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी हुने गुरुङको भनाइ छ । 

“प्रत्येक वर्ष प्रतियोगिता गर्ने योजना भए पनि वर्षमा दुई पटक गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौँ,” उहाँले सुनाउनुभयो । प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुने छन् भने ९ गते प्रतियोगिता हुनेछ । 

प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति र पोखरा १३ को वडा कार्यालयले सघाएका छन् ।