• १५ मंसिर २०८१, शनिबार

हिउँ चितुवाको सङ्ख्या घट्दै

blog

यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर २ गते । 
हिउँ चितुवालाई हिमालको रानीका रूपमा पनि लिइन्छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलन गर्न सहयोगी भूमिका खेल्ने गर्दछ । यसैले पनि यसको संरक्षण गर्नु आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरूले औँल्याएका छन् ।

विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ । हिमाली क्षेत्रमध्येको मनाङ जिल्ला पनि एक हो । मनाङका स्थानीय तह हिउँ चितुवा संरक्षण जुटेको छ ।

‘संस्कृति तथा संस्कार उत्थान, जलवायु परिवर्तन न्यूनीकरणका लागि सचेतना तथा अन्तर्राष्ट्रिय हिउँ चितुवा संरक्षण दिवस’ भन्ने नारा दिएर मनाङको नासो गाउँपालिका यति बेला हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ ।

सो पालिकाका अध्यक्ष धनबहादुर गुरुङले हिउँ चितुवा जोगाउन लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रा अग्रजले मान्दै आएका संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो । अहिले यी लोपोन्मुख चिजको प्रवर्द्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ र हामीहरू यसका लागि लागिपरेका छौँ ।’’

उहाँले हिउँ चितुवा र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताउँदै भन्नुभयो, ‘‘यहाँको मुख्य आय भनेको नै पर्यटन हो । हिमाल, हिमाली जनावर तथा हिउँ चितुवा संरक्षण गर्न सक्यौँ भने पर्यटक पनि बढ्छन् र आम्दानी पनि हुन्छ ।’’

चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताउनुभयो । उहाँले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ भन्दै विश्वमा नेपाललाई हिउँ चितुवाको वासस्थानका रूपमा चिनिने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो वासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ छ भनिन्छ ।’’

वातावरण सफा स्वच्छ राख्न हिउँ चितुवाले भूमिका खेल्ने भएकाले विद्यार्थीबिच हाजिरीजवाफ कार्यक्रम पनि गरिएको थियो । हाजिरीजवाफमा अन्नपूर्ण सदन पहिलो भएको थियो । कार्यक्रममा युवा समूह, आमा समूह, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।