• ६ माघ २०८१, आइतबार

दुई करोडको लागतमा राम मन्दिर निर्माण हुने

blog

मन्दिर निर्माणका लागि नगद सहयोग गर्नुहुँदै खुशीलाल यादव दम्पती। तस्वीर : ललिता साह

ललिता साह

वोदेवसाइन (सप्तरी), मङ्सिर २ गते । सप्तरी राजविराजको पहिचान गराउनेमध्येको एक रहेको राम मन्दिर निर्माण कार्यमा स्थानीयले तदारुकता देखाएका छन् । शनिबार मन्दिर निर्माणका लागि राजविराज–६ का खुसीलाल यादव कोशिलादेवी यादव दम्पतीले एक लाख ५६ हजार नगद दान गरेका छन् । 

सोही ठाउँका जितेन्द्रप्रसाद यादवले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको राजविराज ६ का पूर्व वडाध्यक्ष प्रेम यादवले जानकारी दिनुभयो । जिल्लावासीको आस्थाको केन्द्रको रूपमा रहेको राम मन्दिरको कुनै प्रकारको आर्थिक कोष नरहेकाले चन्दा सङ्कलनबाटै मन्दिर निर्माणका लागि चाहिने सबै खर्च जुटाउनुपर्नेमा स्थानीय दाताहरू सहयोगको लागि तत्पर रहेको स्थानीयवासी अधिवक्ता उमाशङ्कर देवले भन्नुभयो ।

नगरको धार्मिक इतिहास समेत बोकेका राजविराजको मुख्य गजेन्द्र चोकदेखि सिराहा रोडको सखडामोड नगर प्रहरी कार्यालयसँगै रहेको धेरै वर्ष पुरानो राम मन्दिर जिल्लाभरबाट राजविराज आउने नागरिकको बिच पुरानो चोकको रूपमा परिचित ठाउँ हो। केही वर्षअघि सडक बनाउने र फराकिलो गर्ने क्रममा इतिहास नै मासिने गरी मन्दिर भत्काइएको थियो । 

वर्षौँ बितिसक्दा पनि बन्न नसकेको राम मन्दिरको बारेमा समय समयमा स्थानियवासीहरु पहल गर्दैआएको भए पनि निर्माण हुन सकेको छैन । गत वर्ष मधेश प्रदेश सरकारबाट प्राप्त ४० लाख र रामचन्द्र मन्दिर व्यवस्थापन समितिले सङ्कलन गरेका ३० लाख गरी ७० लाखको लगानीमा हालसम्म मन्दिरको एक तला निर्माण गरिसकेको छ । डीपीआर अनुसार मन्दिरको गुम्बज, प्लाष्टर अन्य व्यवस्थित निर्माण गर्न अझै डेढ करोड रकम लाग्न सक्ने मन्दिर व्यवस्थापन समितिको आङ्कलन रहेको समितिका कोषाध्यक्ष राजेश कर्णले जानकारी दिनुभयो ।