• १४ मंसिर २०८१, शुक्रबार

एकल महिलालाई उन्नत जातका बाख्रा सहयोग

blog

फुङ्लिङ नगरपालिका –८ दोखुका एकल महिलालाई उन्नत जातको बाख्रा वितरण गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुका एकल महिलाका लागि वडा कार्यालयले सहयोग गरेको छ । एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग गर्ने उद्देश्यसहित उन्नत जातका बाख्रा वितरण गर्दै वडा कार्यालयले सहयोग गरेको हो । 

फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार वडावासी एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य राखेर उन्नत जातका बाख्रा वितरण गरिएको हो । वडाभित्रका ६० वर्षभन्दा कम उमेर भएका करिब ३३ जना एकल महिलालाई एक–एक वटा बाख्रा निःशुल्क वितरण गरिएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।

उहाँका अनुसार वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन् । वडा कार्यालयबाट बाख्रा पाएपछि राहतको महसुस गरेका एकल महिलाले थोरै भए पनि वडाले दिएको सहयोगले दैनिकी चलाउन टेवा पुग्ने उहाँहरूको अपेक्षा छ । 

यता, वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्रा कम्तीमा दुई वर्षसम्म आफ्नो घरमा पालेको हुनुपर्नेछ । समय समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयबाट प्रवाह हुने अन्य सेवा सुविधा सबै रोक्का हुनेबारे सम्बन्धित महिलालाई सचेत गराएरै बाख्रा वितरण गरिएको पनि वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।