सिराज खान
नेपालगन्ज, मङ्सिर २ गते । बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगन्जले केही समयअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गाेपाल रेग्मीले जानकारी दिनुभयो ।
खासगरी बाँकेको डुडुवा गाउँपालिका तथा बर्दियाका राजापुर, मधुवन र गेरुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा बढी आर्सेनिक देखिएको हो । पानी प्रयोगशालाका अनुसार बाँकेका केही स्थानमा खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको छ ।
पानी प्रयोगशाला, नेपालगन्जका सहायक केमिस्ट रेग्मीका अनुसार खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिने र चुनको मात्रा बढी हुँदा खानेपानीको पाइप समेत जाम हुनसक्छ ।
उहाँले बाँकेको कोहलपुरमा खानेपानीमा क्याल्सियमको मात्रा बढी हुने समस्या देखिएको जानकारी दिनुभयो । पानी परीक्षणका क्रममा खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको प्रयोगशालाले जनाएको छ । केही नमुनामा त्यस्तो देखिएको रेग्मीले बताउनुभयो । शौचालय, गाई गोठनजिक हाते पम्पबाट आउने खानेपानीमा कोलिफर्म देखिन सक्ने प्रयोगशालाले जनाएको छ ।
खानेपानी प्रयोगशालाले फिल्डमा गएर र कार्यालयमा आएका खानेपानीको नमूना हेरेर लुम्बिनी प्रदेशबाहेक हुम्ला, जुम्ला र डोल्पा, जाजरकोटको पानी पनि परीक्षण गर्दैआएको छ । नेपाली सेना, नेपाल प्रहरी, खानेपानीको उपभोक्ता समिति, गैरसरकारी संस्थाले कार्यालयमा ल्याएको खानेपानीसमेत परीक्षण हुनेगरेको रेग्मीको भनाइ छ ।
उहाँले खानेपानीको विभिन्न प्यारामिटर परीक्षण हुने उल्लेख गर्दै खानेपानीको अमिलो वा टर्रोपना, विद्युतीय संवाहक, पानीको घुलित अवस्था, अमोनियालगायतका विषयको परीक्षण हुनेगरेको बताउनुभयो ।