• २३ पुस २०८१, मङ्गलबार

बेँसी झर्न थाले भेडा–च्याङ्ग्रा र चौंरी

blog

बेंसी झर्न थालेका भेडा–च्याङ्ग्रा । तस्विर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, मंसिर २ गते । जलवायु परिवर्तनको असर मनाङमा पनि पर्न थालेको छ । विगतका वर्षहरुमा कात्तिक पहिलो साता नै बेँसी झर्ने भेडा–च्याङ्ग्रा तथा चौंरी गोठ यस वर्ष मङ्सिर लागेपछि बेँसी झर्न थालेका हुन् ।

चिसो बढ्दै जाँदा लेकमा घाँस सुकेर अभाव हुने भएकाले विस्तारै लेकबाट बेँसीतर्फ गोठ सार्ने काम सुरु भएको छ । जेठ महिनादेखि अग्ला लेकमा लगिएका भेडा–च्याङ्ग्रा र चौंरीगोठ गोठालाहरुले चाडपर्व सकिएसँगै बेँसीतर्फ झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क पनि खाली हुँदैआएको छ । 

मनाङ ङिस्याङ गाउँपालिका –६ केरकिनमा चौंरी तथा भेडा–च्याङ्ग्रा पाल्दैआएका सगर गुरुङले ३ हजार ६ सय मिटर उचाइको लेकबाट हिउँ पर्न थालेपछि पशु झार्न थालिएको बताउनुभयो । मनाङकै ङिस्याङ –८ जुलुमा ३७ परिवारले सामूहिक रूपमा भेडा–च्याङ्ग्रापालन गर्दैआएका छन् । 

जुलुका भेडा–च्याङ्ग्रा तथा चौंरी गोठ पनि बेँसीगाउँ आसपासको बेँसीतिर झारिएको गुरुङले बताउनुभयो । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उहाँले बताउनुभयो । 

व्यावसायिक रूपमा पशुपालनलाई सरकारले चासो नदिएकोमा गुरुङको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘गत वर्ष विभिन्न रोगले २२ चौंरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।’ 

गत वर्ष हिमपहिराेमा परी २ सय ५० भन्दा बढी भेडा–च्याङ्ग्रा तथा चौंरी मरेको सुनाउँदै उहाँले भन्नुभयो, ‘अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।’

ङिस्याङकै अर्का चौंरी पशुपालक याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले हिउँचितुवाले बढी सताउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले चौंरी र भेडा–च्याङ्ग्रा धेरै थिए । हिजोआज चाहिँ पाल्ने क्रम कम भएको छ । अझ हिउँचितुवाको आक्रमण बढ्दा समस्या थपिएको छ ।’ साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुनेगरेको गुनासो गर्दै गुरुङले  भन्नुभयो, ‘हिउँचितुवाले आक्रमण गर्दा कति बाच्छाबाच्छी जोगाउनै मुस्किल छ । कहिले त कति बेला खायो नै थाहा हुँदैन ।’ राहतका लागि झन्झट छ । राहतको ५–१० हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा २५ देखि ३० हजार खर्च हुनेगरेको उहाँको गुनासो छ । 

गुरुङले भन्नुभयो, ‘पहिलेजस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झन्झन् माथिल्लो लेकबाट गोठ सार्नुपरेको छ । समयमा हिउँ नपर्दा घाँसको समस्या हुँदैगएको हो ।’ मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दैआएको उहाँले बताउनुभयो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राइले भेडाच्याङ्ग्रा, चौंरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताउनुभयो । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उहाँको भनाइ छ ।