• १३ मंसिर २०८१, बिहिबार

आगलागीबाट अस्पतालसहित सात वटा पसलमा क्षति

blog

आगलागीबाट भएको क्षति । तस्बिर : जिल्ला प्रहरी कार्यालय

अविनाश चौधरी
धनगढी, मङ्सिर २ गते ।
कैलालीको धनगढीमा भीषण आगलागीबाट एक अस्पतालसहित सात वटा पसलमा क्षति भएको छ ।
आगलागीबाट धनगढी उपमहानगरपालिका–१ मुख्य बजारमा रहेको सारथी अस्पतालसहित आसपासका सात वटा पसलमा क्षति भएको हो । आगलागी भने दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ताचप्पलको होलसेल गोदाम) बाट सुरु भएको थियो । राति करिब १ बजेतिर विद्युत् सर्ट भएर भएको आगलागीबाट सो पसलसहित अन्य पसल र अस्पतालमा ठूलो क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीले भण्डारी जनरल स्टोर, सारथी अस्पताल प्रालि, टेकेन्द्र शर्माको मधुमाला बेबी सपको गोदाम, वासुदेव भट्टको भट्ट सपिङ सेन्टर (ब्याग हाउस) मा क्षति भएको छ । यसैगरी, जगतबहादुर बलायरको सुभिच्छा बेबी सपिङ सेन्टर (कपडा गोदाम), यशोदा साउदको न्यू सदिक्षा इन्टरप्राइजेज (कपडा, जुत्ता, ब्यागको गोदाम) र जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (ब्याग हाउस) मा क्षति पुगेको छ ।

विद्युत् सर्ट भएर भीषण आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेनाको टोली आगो निभाउनका लागि खटेको छ । यसैगरी, आगो निभाउन धनगढी उपमहानगरपालिकाको दुई, गोदावरी नगरपालिकाको एक र पुनर्वास नगरपालिकाको एक गरी चार वटा दमकल प्रयोग गरिएको छ । आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।