• ११ असोज २०८१, शुक्रबार

यात्रुसँग बढी भाडा लिने ५८ सवारीद्वारा रकम फिर्ता

blog

सवारी साधन चेकजाँच गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, मङ्सिर २ गते ।
यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनले रकम फिर्ता गरेका छन् । दसैं, तिहार र छठ पर्वको मौका छोपी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीलाई  कारवाही गरेर यात्रुसँग बढी भाडा लिए बापतको रकम फिर्ता गराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

चाडपर्व अवधिभर ५८ सवारी साधनबाट ४४० जना यात्रुको बढी भाडा वापत एकलाख १३ हजार ६७० रुपियाँ फिर्ता गराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । बागमती प्रदेश मातहतका जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुर, नुवाकोट, काभ्रे र सिन्धुलीमा अवैध रूपमा ओसारपसार गर्दै गरेको १२ हजार ९६५ केजी चिनी, नौ लाख ४६ हजार ४२० मूल्य बराबरको कुर्तासुरुवाल र साडी प्रहरीले बरामद गरेको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन र सिन्धुलीमा चाडपर्वको बेला पटका, आतिसबाजी, प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको छ । प्रहरीले ४५२ प्याकेट, ४४ पोका र पाँच बोरा पटका, आतिसबाजी जस्ता पदार्थ बरामद गरेको हो ।

त्यस्तै, अपराध अनुसन्धान तथा कारवाहीतर्फ ३०९ वटा कसूर दर्ता भएकोमा १९९ जना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, सिन्धुलीबाट जुवा कसूरमा १०८ जनाको साथबाट १६ लाख ८९ हजार ५२९ बरामद गरी कानुन बमोजिम अनुसन्धान कारवाही भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

त्यस्तै, चाडपर्व अवधिभर १५६ सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको छ भने ३५१ जना घाइते हुनुभएको छ । प्रहरीले ५९ हजार ७३२ वटा सवारी कारवाहीबाट चार करोड ८८ लाख ५९ हजार ५०० जरिवाना सङ्कलन गरेको छ ।