शेरबहादुर सार्की
बाजुरा, मङ्सिर १ गते । बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –२ को पहिरोकाे जोखिम बजेडी बस्तीमा पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्दै गरेकोले यहाँका स्थानीयलाई पहिरो आएको पूर्व जानकारी गर्ने गरी पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरेको हो ।
पानी परेको समय पहिरो गएर पुर्छ कि भन्ने डर डरैले सधैँ बर्खाका रात काट्दै आएको बूढीगङ्गा नगरपालिका –२ बजेडीका स्थानीय दिनेशराज जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “ अब पहिरोको आएको नआएको कुरा पहिला थाहा हुने गरी गाउँमा पहिरो पूर्व सूचना दिने मेसिन (साइरन ) जडान भएपछि त्यो डर हटेको छ । ”
बर्खाको समय पहिरोका कारण यहाँका घर पनि बिस्तारै तल सर्ने गर्दछन् । यसरी घर तल सरेपछि कुन रात आफू पनि पहिरोमा पुरिने हो भन्ने मनमा डर हुन्थ्यो । अहिले गाउँमा दुई वटा पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) मेसिन जडान गरेपछि पहिरो आएको बेला भागेर ज्यान बचाउने सकिने जैशीले बताउनुभयो ।
२०२२ देखि २०८० सम्म बजेडीका स्थानीयवासी पहिरोकै डरैडरमा रात काट्दै आइरहेका छन् । पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार पहिला नै विस्थापित भइसकेका छन् भने १३५ घर परिवार अझैँ पहिरोको उच्च जोखिममा छन् ।
यहाँका स्थानीयले बस्ती स्थानान्तरणका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारसँग धेरै पटक माग राख्दै आएको भए पनि अहिलेसम्म कतैबाट यो कुराको सुनुवाइ नै भएको छैन् । पहिरोका कारण यहाँको झन्डै सात हजार रोपनी जमिन बगरमा परिणत भएको छ भने अझै पहिरो नरोकिएकोले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था छ ।
यहाँका स्थानीयलाई पहिरोबाट जोगाउनका लागि नगरपालिका र साहास नेपालको आर्थिक सहयोग र राम लक्षण प्रालिको प्राविधिक सहयोगमा गाउँमा पहिरो पूर्व सूचना दिने मेसिन (साइन) जडान गरिएको बुढीगङ्गा नगरपालिका वडा नं –२ का वडा सदस्य धर्मराज जैशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो मेसिनले पहिरो गएको बेला झन्डै एक किलोमिटर टाढासम्म आवाज दिन्छन् । त्यो आवाजले पहिरो गएका बेला यहाँका स्थानीयलाई भाग्न सहज हुन्छ ।” मेसिनले पहिरो आएको बेलामा आवाज दिने गरेपछि यहाँका स्थानीय पहिरोबाट बच्न सक्ने सम्भावना धेरै रहेको वडा सदस्य जैशीले बताउनुभयो ।
बाजुराका अधिकांश गाउँ बस्ती पछिल्लो समय पहिरोको जोखिममा छन् । ती बस्तीमा पहिरो गएको बेला भाग्न सहज हुने गरी पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गर्न निकै आवश्यक देखिन्छ ।
बाजुरामा यस्तो मेसिन अहिलेसम्म कतै जडान गरिएको छैन । यो बाजुरा जिल्लाकै सबैभन्दा पहिलो साइरन मेसिन जडान गरिएको राम लक्षण प्रालिले जनाएको छ । यो मेसिनले पहिरो आएको बेला झन्डै एक किलोमिटर टाढासम्म आवाज दिने गर्छ । बजेडीका स्थानीयलाई मात्र नभई खप्तड छेडेदह गाउँपालिकाको गुइबनबासीलाई पहिरोबाट सतर्क गर्न सक्ने राम लक्ष्मणले बताउनुभयो ।