• १२ मंसिर २०८१, बुधबार

हङकङलाई जितका लागि ५७ रनको लक्ष्य

blog

काठमाडौं, कात्तिक ३० गते । चार देश सम्मिलित टी-२० शृङ्खलाअन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले खेलको १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनायो । 

नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाउनुभयो । उहाँले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाउनुभएको हो । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

सीता रानामगरले ९ रन जोड्नुभयो भने रोमा थापाले ७ रन बनाउनुभयो । त्यस्तै नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रूपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् । 

तेस्रो नम्बर ब्याटिङ गर्न आएकी सम्झना खड्कालाई नेपालले दोस्रो विकेटका रूपमा  गुमायो । उहाँले एक रन जोड्दै आउट हुनुभयो । चौथो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उहाँ रनको खाता नै नखोली पेभिलियन फर्किनुभयो । पाँचौँ नम्बरमा ब्याटिङ समाल्न आउनुभएको नेपाली टोलीकी कप्तान इन्दु बर्मा पनि शून्य रनमै आउट हुनुभयो ।  

बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिनुभयो भने रुचिथा भेनकातेसले दुई विकेट झार्नुभयो । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एक/एक विकेट लिनुभयो ।  

नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ । हिजो भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो ।

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । हङकङ अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस