• ४ जेठ २०८१, शुक्रबार

विद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा

blog

बूढीनन्दा नगरपालिका –९ शिद्धेश्वरी आधारभूत् विद्यालयका कर्मचारी बालबालिकालाई खाजा खुवाउँदै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक ३० गते । बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दैगएको छ । विद्यालयमा उपस्थित नहुने बालबालिकालाई नियमित सहभागी गराउँदै आएपछि पछिल्लो समय बाजुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दैगएको हो ।

बूढीनन्दा नगरपालिका –९ सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायाले विद्यालय नजिकै घर भएकाले घरमा खाजा खान जानुपर्दथ्यो । अहिले विद्यालयमै खाजा मिल्न थालेपछि त्यो समस्या हटेकोे बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरमा खाजा खान गएका बेला विद्यालयमा आउँदा पढाइ छुट्ने गथ्र्यो । अहिले विद्यालयमै खाजा मिल्न थालेपछि सबै विषय राम्रोसँग पढ्न पाएको छु ।” 

विद्यालयमा सञ्चालन भएको यो दिवा खाजा कार्यक्रमले मजस्तै यहाँका अन्य बालवालिकालाई समेत नियमित विद्यालय आउन सहयोग गरेको रोकायाले बताउनुभयो । 

दिवा खाजा कार्यक्रम लागू नहुनुभन्दा पहिला यहाँका अधिकांश बालबालिका दिउँसो भोक लागेपछि पढाइ छाडेर नास्ताका लागि घरमा जानेगरेका थिए । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा यो दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि अहिले बालबालिकाको त्यो समस्या  हटेको छ ।

विद्यालयमै मिठो र पोषिलो खाजा खान पाउने आशले पछिल्लो समय बालबालिकाहरु नियमित विद्यालयमा आउन थालेपछि विद्यार्थीको  सङ्ख्यामा समेत वृद्धि भएको बूढीनन्दा नगरपालिका –९ को सिद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक तुलाबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयमा सञ्चालन भएको यो दिवाखाजा कार्यक्रमले यती बेला स–साना बालबालिकालाई समेत विद्यालयमा आउन निकै उत्प्रेरित गर्दै आएपछि विद्यालयमा बालबालिकाको सङ्ख्यामा वृद्धि भएको हो ।”

यो कार्यक्रम सञ्चालन नहुनुभन्दा पहिला यहाँका अधिकांश बालबालिका घरमै बस्नेगरेका थिए । अहिले कार्यक्रमले ती बालवालिका समेत विद्यालयमा आउन थालेको रावतले बताउनुभयो ।

विद्यालयमा दिने दिवा खाजाका कारण बालबालिका नियमित विद्यालयमा आउन थालेपछि पछिल्लो समय उनीहरुको आनीबानीका साथै पढाइमा समेत सुधार आएको छ ।

यसरी विद्यालयमा मिल्ने खाजाको आशले पूरा विषय पढ्न थालेपछि अहिले बालबालिकाको पढाइमा सुधार आएको शिक्षक रावतले बताउनुभयो । पछिल्लो समय नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालवालिकाको दिवा खाजा कार्यक्रमका लागि रकम पालिकाको खातामा राखिदिने गरेको छ ।

पालिकाले प्रतिबालवालिकालाई १५ रुपियाँका दरले रकम दिन्छ । त्यो रकमले विद्यालयले बालवालिकाहरुलाई विष्कुट, मासु चिउरा र फलफुल खुवाउने गर्दछन् ।

बाजुराका ७ वटा स्थानीय निकायका झण्डै १३८ विद्यालयमा विश्व खाद्यान कार्यक्रम र दुई वटामा स्थानीय निकायका झण्डै १०१ विद्यालयमा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगबाट दिवा खाजा कार्यक्रम सुरु भएको छ ।

खाद्यान कार्यक्रम लागु भएका विद्यालयमा एक विद्यार्थीलाई ८० ग्राम चामल २० ग्राम दाल १० ग्राम तेल २ ग्राम नुन गरी ११२ ग्राम खाद्यान कार्यक्रमले  दिने र त्यो कार्यक्रम लागू नभएका विद्यालयमा १५ रुपिँया दिनको एक विद्यार्थीलाई नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिनेगरेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयमा यो कार्यक्रम लागु भएपछि पहिला विद्यालय छोडेका बालवालिकाहरु पुनः विद्यालयमा भर्ना भएका छन् ।” बाजुरामा २३७ सामुदायिक र ३० वटा निजी विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका संयोजक सिंहले बताउनुभयो ।