• १३ असोज २०८१, आइतबार

विदेशबाट फर्किएर फूलखेती

blog

कोहलपुरका पाँच युवाले गरेको फूलखेती। तस्बिरः सिराज खान।

सिराज खान 

नेपालगन्ज, कात्तिक २८ गते। हरेक वर्ष तिहारको समयमा फूलको माग बढ्दै गएपछि बाँके जिल्लाका युवाले तिहार लक्षित व्यवसायीक फूलखेती गरेका छन्। 

विशेष गरेर भारतबाट आयात हुने फूलको मागलाई कम गर्न र बाँके जिल्लामै उत्पादन गरिएका फूललाई बजारीकरणमा जोड दिने उद्देश्यका साथ फूलखेती गरिएको हो। यसमा कोहलपुर-१३ का केही युवा सक्रिय छन्। 

रोजगारीका लागि विदेश पुगेर फर्किएका कोहलपुर-१३ का कर्णबहादुर थापाले पाँच जना साथीसहित सामूहिक रुपमा फूल खेती गर्दै आउनुभएको हो। 

उहाँले थापा कृषि तथा नर्सरी फर्म दर्ता गरेर दुई लाख बराबरको आफ्नै लगानीमा अहिले १५ कट्ठा क्षेत्रफलमा कर्म र कलकत्ते जातको सयपत्री फूल मात्रै लगाउनुभएको छ। 

साढे तीन वर्ष विदेशमा बस्दा विभिन्न हन्डर खाएपछि  स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोच बनाएर नै व्यवसायीक रुपमा फूलखेती गर्न थालेको थापाको भनाइ छ। 

गत वर्ष पानीका कारण सोचे अनुरूपको फूल उत्पादन नभएता पनि यो वर्ष १५ क्विन्टल फूल उत्पादन भएको उहाँले बताउनुभयो। यसले भारतबाट हुने फूलको आयातलाई धेरै हदसम्म रोक्न सफल भएको उहाँको भनाइ छ। 

यस वर्ष फूल बिक्रीबाट पाँच लाख रुपियाँसम्मको आम्दानी हुने अनुमान गरिएको उहाँले बताउनुभयो। छोटो समयमा थोरै लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सकिने उहाँले बताउनुभयो।

चाडपर्वसँगै सभा सम्मेलन, गोष्ठी र सम्मानका लागि प्रयोग गरिने फूलको माग पूरा गर्न फूलखेतीतर्फ आकर्षण बढ्दै गएको थापाको भनाइ छ। त्यहाँ उत्पादन भएको सयपत्री फूल बाँकेसहित अन्य जिल्लामा पठाइएको छ।