• ६ माघ २०८१, आइतबार

नेपाल रेल सेवा : जाडोमा नयाँ समयतालिका निर्धारण

blog

रेल सेवाको नयाँ समय तालिका र नेपाली रेल । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, कात्तिक २८ गते । विजलपुरा–जनकपुरधाम–जयनगरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा अगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरिएको छ । 

मङ्सिर महिनादेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुहरुको स्वास्थ्य सुरक्षाको दुष्टिकोणले हालको समयतालिकामा परिवर्तन गरिएको हो । दैनिक आउजाउ गरी ६ पटक सञ्चालन भइरहेको रेल भगहा (विजलपुरा)–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ । जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक (प्रबन्ध सञ्चालक) निरञ्जनकुमार झाले भन्नुभयो, “चिसो मौसमका कारण यात्रुहरुको स्वास्थ्यलाई मध्यनजर गरी समयसारणी मात्र परिवर्तन गरिएको छ ।”

नयाँ समयतालिका रेल सेवाको नयाँ समयअनुसार पहिलो ट्रिप रेल भगहाबाट (बिजलपुरा) बिहान ७ः३० प्रस्थान र जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भंगहा आइपुगेर रात्री बिश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ । 

त्यस्तै, जयनगरबाट बिहान १० बजे प्रस्थान हुने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने जनाएको छ । यसैगरी, फेरि जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भइ दिउँसो ४ः४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिनुभयो । 

दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराको लागि अन्तिम रेल सेवा सञ्चालन हुने उहाँले भन्नुभयो । यो रेल साँझ ७ः१५ बजे भंगहा(विजपुरा) पुगेर रात्री बिश्राम बस्ने छ । 

यसअघिको समय

नयाँ वर्ष २०८० वैशाख १ गतेदेखि पहिलो पटक नेपाली भूमिबाट सिधै रेल सेवा सञ्चालन भएर जयनगरसम्म सञ्चालन भएको हो । यसअघिसम्म जयनगरबाट गुड्दैआएको रेल जनकपुरधामको कुर्थासम्म आउजाउ गरिरहेको थियो । जयनगरदेखि–जनकपुरधामको कुर्थासम्म दैनिक दुई पटक आउजाउ गर्दैआएको रेल सेवा कुर्था र जयनगरबाट छुटाछुट्टै समयमा रेल सञ्चालनमा ल्याएको थियो ।

महाप्रबन्धक (प्रबन्ध सञ्चालक) निरन्जनकुमार झाले भन्नुभयो, “रेल सेवाको प्रस्थान र विश्राम बिन्दु कुर्था नै थियो । त्यसबेला पहिलो ट्रिप रेल सेवा कुर्थाबाट बिहान ७ः१५ मा सञ्चालन भइ बिहान ९ः१५ बजे जयनगर पुग्ने र जयनगरबाट बिहान ९ः३० बजे चल्ने सोही रेल कुर्था बिहान ११ः३० पुग्ने गरिन्थ्यो ।” 

त्यस्तै, दोस्रो ट्रिप पनि कुर्थाबाट दिउँसो २ः४५ बजे रेल गुडेर ४ः४५ बजे जयनगर पुग्ने र त्यहाँबाट फेरि दिउँसो ५ः०० बजे गुडेर साँझ ७ः०० कर्था पुग्ने गरेको थियो, महाप्रबन्धक झाले जानकारी दिनुभयो । 

मौसम र वातावरणलाई ध्यानमा राखेर धार्मिक पर्यटक र व्यापार व्यवसायीलाई सहयोग पुग्ने हिसाबले समयतालिकामा परिवर्तन गरेको महाप्रबन्धक झाले बताउनुभयो । अहिलेको समय तालिका अनुसार चिसोयामको छोटो दिनको समयमा व्यापारीलाई खरिदबिक्री गर्न र पर्यटकलाई दर्शन, घुमफिर गर्न समय मिल्ने र घर फर्किन सहज हुनेगरी समयतालिका परिवर्तन गरेको उहाँको भनाइ छ ।

बिजलपुरादेखि जयनगरसम्म ५२ किलो मिटर रेलको दूरी छ भने जयनगर–जनकपुरधामको कुर्थासम्म ३५ किलो मिटर दूरी रहेको छ । सुरुमा रेलको रात्री विश्राम जयनगर बजार सीमावर्ती नेपालको इनर्वामा थियो । त्यहाँबाट जयनगर पुगेर दैनिक दुई पटक आउजाउ गरिरहेको थियो । २०८० वैशाख यतादेखि रात्री विश्राम कुर्थामा रहेको थियो । 

यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भंगहासम्म १७.५ किलोमिटर रेलको लिक तयार भएको छ । तेस्रो चरणमा विजलपुरा भंगहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनको लागि लिक निर्माण कार्य भइरहेको छ । 

विसं १९९४ जुद्धशम्शेरका पालामा सुरुभएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो । नेपालमा पहिलो रेल सेवा वि.सं १९८४ मा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो ।

अहिले सञ्चालन भइरहेको नेपाली रेल, २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकणले कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर तथा उभिएर यात्रा गर्न सक्ने क्षमता छ ।