प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक २८ गते । जिल्ला प्रहरी कार्यालय कालीकोटले तिहारलक्षित सुरक्षा प्रभावकारी बनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार गाउँमा गस्ती बढाएको बताउनुभयो ।
मातहतमा रहेका प्रहरीचौकीको अनुगमन तथा अध्ययन गर्दै तिहारमा बढ्ने जुवाताससँगै घट्ने अपराधिक घटनालाई घट्न नदिन दैनिक गस्ती र सादा पोशाकका प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ ।
आफै जिल्लाका विकट क्षेत्रमा रहेका प्रहरीचौकी हाउडी, पाद्माघाट, चिल्खाया लगायत क्षेत्रमा पुगेर सुरक्षा योजनावारे जानकारी दिंदै गस्तीलाई निरन्तरता दिन निर्देशन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाले घटना भएको सूचना आउने र त्यसपछि गस्तीमा गएको प्रहरीले जुवातास खेल्ने, अपराध गर्नेलाई नियन्त्रणमा लिने पुरानो तरिका भएको भन्दै अब नियमित गस्ती प्रकावकारी बनाएको बताउनुभयो ।
गाउँमा गस्ती गर्ने निर्देशनले घटना हुन नदिने कुरामा प्रहरी ढुक्क रहेको उहाँको भनाइ छ । बिहान साँझ गस्ती हुन्छ, रातिको समयमा पनि छड्के भएकै हुन्छ, त्यसमा जनप्रतिनिधिले साथ दिने हो भने अपराधिक घटनालाई शून्यमा झार्न सकिने प्रहरीको बिश्वास छ ।
प्रहरी प्रमुख केसीले यो अप्रेसनको नयाँ तरिका अपनाएको र यसले पनि राम्रो काम नगरेमा सादा पोसाकका प्रहरीलाई खटाउने बताउनुभयो । सादा पोशाकका प्रहरीले घटना अध्ययन गर्छन् र खबर गर्ने बित्तिकै गस्ती टोली त्यहाँ पुगेर नियन्त्रणमा लिने योजना प्रहरीको छ ।