• १३ मंसिर २०८१, बिहिबार

सुरक्षाकर्मीद्वारा सीमास्तम्भको संयुक्त अनुगमन

blog

हिल्सादेखि किट क्षेत्रका सीमास्तम्भको संयुक्त अनुगमन गर्ने दुई देशका सुरक्षाकर्मी । तस्बिर : सौजन्य, पप्पु यादव

राजन रावत

हुम्ला, कात्तिक २८ गते । हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका नेपाल र चीनको सीमा क्षेत्रका सीमास्तम्भहरुको दुई देशका सुरक्षाकर्मीद्वारा संयुक्त अनुगमन गर्ने काम भएको छ । दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सीमास्तम्भको अवस्था बारेका संयुक्त रुपमा जानकारी लिन अनुगमन गरिएको हो । 

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गुन्जनप्रताप मल्लले हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी वलको सीमा सुरक्षा चौकीका (बिओपी) सुरक्षाकर्मी र चिनीयाँ सुरक्षाकर्मीको सहभागितामा हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका सीमास्तम्भको संयुक्त अनुगमन गर्ने कार्य भएको बताउनुभयो । 

वर्षमा तीन पटक यसरी संयुक्त रुपमा सीमास्तम्भहरुको अनुगमन गर्नुपर्ने भए पनि यस वर्षको पहिलो अनुगमन गर्ने कार्य भएको उहाँले बताउनुभयो । हिल्सादेखि किटसम्मका नेपाल र चीनको सिमानाका नौ वटा सीमास्तम्भको संयुक्त अनुगमन गर्न नेपाली सुरक्षाकर्मीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक पप्पु यादव र चिनीयाँ सुरक्षाकर्मीको तर्फमा निरीक्षक फरेष्ट लियोले गर्नुभएको थियो । 

सशस्त्र प्रहरी निरीक्षक यादवले दुई देशका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा स्तम्भ अनुगमन कार्य हिल्सादेखि किटसम्मका पाँच (१) र (२), ६ (१) र ६ (२), ७ (१), ८ (१) र ९ (१) र (२) नम्बरका सीमास्तम्भको भएको बताउनुभयो । उहाँले यी सबै सीमास्तम्भको अवस्था राम्रो रहेको निष्कर्ष संयुक्त सुरक्षाकर्मीको अनुगमन टोलीले गरेको बताउनुभयो । 

यसका लागि दुवै देशका एघार एघार जना सुरक्षाकर्मी खटिनुभएको थियो । उहाँले नेपाली सुरक्षाकर्मीले नियमानुसार सीमास्तम्भको अनुगमन गर्न तयार भए पनि चिनीयाँ सुरक्षाकर्मीले केही ढिलाइ गरेको बताउनुभयो । दुई देशका सीमा सुरक्षाकर्मीको काउन्टरपार्टको बैठक भने नियमित हुनेगरेको छ ।