• १९ असार २०८१, बुधबार

टाइम कार्ड लागू गरिएपछि दुर्घटनामा कमी

blog

निकुञ्जभित्र भएर जाने सवारी साधनका चालकलाई टाइम कार्ड दिंदै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २८ गते । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत १५ किलोमिटर सडकमा टाइम कार्ड लागू गरिएपछि सडक दुर्घटनामा कमी आएको छ । 

निकुञ्जभित्रको पूर्व–पश्चिम राजमार्गमा सडक दुर्घटनाहरु बढेपछि  नियन्त्रणका लागि १५ किलोमिटर सडकमा एक महिना पहिले टाइम कार्ड लागू गरिएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीका अनुसार बाँके राष्ट्रिय निकुञ्जको शमशेरगन्जदेखि जिरोसम्मको १५ किलोमिटर सडकमा टाइम कार्ड लागू भएपछि सडक दुर्घटना घट्दैगएको छ । 

उहाँले टाइम कार्ड लागू भएको ठाउँमा लागू भए यता कुनै सवारी दुर्घटना नभएको जनाउँदै यसले निकै प्रभावकारी काम गरेको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले थप्नुभयो, ‘उक्त १५ किलोमिटर सडक धागोजस्तै सिधा छ, सडक सिधा भएकाले तीव्र गतिमा सवारी साधन गुड्ने र सवारी चालक निदाउँदा पटक पटक सवारी दुर्घटना हुनेगरेको थियो । टाइम कार्ड लागू भएपछि सडक दुर्घटना न्यूनीकरण भएको छ ।’ 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार टाइम कार्ड लागू भएको सडक खण्डमा प्रतिघण्टा ४० किलोमिटर गतिमा सवारी साधन चलाउने नियम बनाइएको छ । १५ किलोमिटर दूरी पार गर्न २२ देखि २७ मिनेटको समय दिइएको छ । 

तोकिएको समयभन्दा ढिलो गए पनि कारबाही हुने र छिटो गए पनि कारबाहीको भागिदार हुनुपर्ने नियमका कारण सवारी साधन चलाउने चालकले होसियारीपूर्वक सवारी साधन चलाउने गरेकाले पनि दुर्घटना घटेको जनाइएको छ । 

तीव्र गतिमा सवारी साधन चलाउन नपाउँदा एकापसमा सवारी साधन जुध्ने वा अनियन्त्रित भई दुर्घटना हुने खतरा नरहने प्रहरीले जनाएको छ । टाइम कार्ड दिने र सवारी चालकले नियम पालना गरे–नगरेको हेर्ने काम बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले गरिरहेको छ । 

नेपाली सेनाले दुईवटा सवारी साधनलाई एउटा टाइम कार्ड दिएर सँगसँगै पठाउने गरेको छ । अघिल्लो वर्ष बाँकेमा घटस्थापनादेखि पूर्णिमासम्म सवारी दुर्घटनामा परी ६ जनाको मृत्यू भएको थियो । १३ वटा दुर्घटना भएका थिए । तर यस वर्ष सोही अवधीमा दुर्घटना निकै कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।