चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका एक अग्निपीडित परिवारलाई वडा कार्यालयले सहयोग गरेको छ । फुरुम्बु लामाथान टोलका अग्निपीडित यामकुमार शिवाको परिवारलाई वडा कार्यालयले सहयोग गरेको हो ।
वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार शिवाको परिवारलाई केही नगदसहित न्यानो सिरकलगायतका सामग्री बुधबार प्रदान गरिएको छ । आगलागीबाट घर गुमाएका शिवाको परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले वडाको तर्फबाट नगद र जिन्सी सामग्री सहयोग गरेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
शिवाको ढुङ्गा र माटोले बनेको कच्ची घर मङ्गलबार दिउँसो भएको आगलागीबाट पूर्णरुपमा नष्ट भएको थियो । आगलागीले घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री जलेर खरानी भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । बालबालिकाले आगो खेलाउने क्रममा घर आगलागी भएको बताइएको छ ।