• ७ जेठ २०८१, सोमबार

उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित जाजरकोटको जुनीचाँदेमा

blog

राहत सामग्री वितरण गर्ने क्रममा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक २२ गते । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुग्नुभएको छ । भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुग्नुभएको हो । 

उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नं ३ मा पुगेर हस्तान्तरण गर्नुभएको छ । सो क्रममा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा हुनुहुन्थ्यो । गत शुक्रबार राति भूकम्प गएयता उपप्रधानमन्त्री भूकम्पपीडितको उद्धार, राहतलगायतका काममा खटिनुभएको छ । भूकम्प गएयता उपप्रधानमन्त्री खड्का सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी प्रभावितहरुको उद्धार र राहतमा खटिनुभएको जानकारी उहाँको सचिवालयले दिएको छ । 

राहत वितरणपछि पुनः स्थापनाको काम सुरु नहुँदासम्म उहाँ सोही स्थानमै रहनुहुनेछ । रक्षामन्त्री समेत रहनुभएका खड्काले सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै यस संकटको समयमा साथ दिने सबैलाई हार्दिक धन्यवाद दिनुभएको छ । 

“नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । म आफैँ पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहत वितरणमा सक्रिय छु । सरकार प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।