• ५ जेठ २०८१, शनिबार

भोजपुरका घर-घरमा साना मिल

blog

फाइल तस्बिर

टक्सार (भोजपुर), कात्तिक २२ गते । केही वर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ-गाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् । 

अनुदानमा विभिन्न सरकारी निकायबाट मिनिमिल वितरण हुन थालेपछि घर-घरमा मिल राख्न सुरु गरिएको छ । मिल सञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भन्नुभयो, “गाउँघरबाट ढिकी, जाँतो त विस्थापित हुँदै गयो । अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन् ।” विद्युत गाउँ-गाउँमा पुगेसँगै घर-घरमा साना मिल जडान हुन थालेका उहाँले बताउनुभयो । 

ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जाने परिवारको कमी हुने थालेको बताउँदै धेरैले घरमा नै साना मिल राख्न थालेका व्यापारी बाजिम मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ । ४०-४५ हजारमै मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ धेरैको आर्कषण बढेको हो ।” अहिलेसम्म पसलबाट दुई सय बढी सानो मिल बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो ।

सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवराज पाण्डेले बताउनुभयो । साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उहाँको भनाइ थियो । “आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी छ”, उहाँले भन्नुभयो । मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले मिल बन्द गरेको अत्तर राईस मिलका सञ्चालन जीवन श्रेष्ठले बताउनुभयो ।

“धान, मकै, कोदो र तोरी पेल्ने मिल वर्षौदेखि सञ्चालनमा थियो । अहिले साना मिलका कारण ठूला मिल प्रयोगमा आउन नसक्दा कवाडीलाई सामग्री बिक्री गर्नुपर्ने अवस्था आएको छ ।” उहाँका अनुसार गाउँघरमा रहेका अन्य ठूला मिलको पनि अवस्था अहिले यस्तै छ । पछिल्लो समय यान्त्रिकरणमा आकर्षण बढ्दै गएपछि घरमा मिल राखेर धान, गहुँ र दाना पिस्न सजिलो भएको स्थानीय भक्तबहादुर प्रधानले बताउनुभयो । साना मिल राख्न थालिएपछि क्षमता वृद्धिका लागि विद्युत प्राधिकरणमा समेत आवेदन दिने ग्राहकको सङ्ख्या बढ्दै गएको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । रासस