• ९ जेठ २०८१, बुधबार

मुगुमा पर्यटकको चहलपहल

blog

मुगु समाचारदाता 

मुगु, कात्तिक २२ गते  । मुगुका मुख्य पर्यटकीय गाउँमा विदेशी पर्यटक किसानसँग रमाउन थालेका छन् । असोजलगत्तै मुगुको झ्यारी गाउँ, मुर्मा गाउँ र भामभाडामा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय कृष्ण रावलले बताउनुभयो । मुगु घुम्न आएका विदेशी पर्यटक आजभोलि रारातालमा मात्र सीमित हुन चाहँदैनन् । उनीहरूको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । सहरको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्य र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।

स्थानीय सरकारको समन्वयमा कर्णाली प्रदेशको वन तथा पर्यटन मन्त्रालयले रारातालदेखि सदरमुकाम गमगढी बजार आसपासका परम्परागत शैलीका पर्यटकीय गाउँसम्म पर्यटकीय पद मार्ग निर्माणका लागि गुरुयोजना तयार गरेमा पर्यटकलाई आउजाउमा सहज मिल्ने दुर्गा फिमेल ट्रेकिङकी सञ्चालक दुर्गालक्ष्मी रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी पर्यटक रारातालमा मात्र नरमाएर गाउँका परम्परागत शैलीका बस्तीमा पनि रमाउने गरेका छन् । स्थानीय सरकार र रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र कार्यालयको समन्वयमा जिल्लाका युवालाई रोजगारमा टेवा मिल्ने उद्देश्यले उनीहरूलाई ट्रेकिङ व्यवसायको तालिम प्रदान गरिदिएमा  आत्मनिर्भर बनाउन सकिने ट्रेकिङ व्यवसायी रावलको सुझाव रहेको छ । राराताल सडक सञ्जालमा जोडिएपछि आन्तरिक पर्यटकलगायत विदेशी पर्यटकले रारा र यहाँका परम्परागत बस्तीको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको स्थानीय होटेल व्यवसायी पुनिकला बमले बताउनुभयो । गएको असोज महिनाबाट कात्तिकसम्म उल्लेखनीय पाहुना आउने व्रmम सुरु भएको उहाँले बताउनुभयो ।

हिमाली जिल्लाको राराताल आसपासका ग्रामीण भेगमा अवलोकन गर्न आएकी स्विट्जरल्यान्डकी नागरिक सिलमियाले यहाँका समुदायले परम्परागत तरिकाले कृषिमा काम गर्दा ज्यादै दुःख हुने गरेको रहेछ, जसले गर्दा कृषिमा काम गर्दा लामो समय खर्चिनुपर्ने बाध्यता छ किसानलाई, आफ्नो देशमा किसानले आधुनिक प्रविधिको प्रयोगले किसानलाई खेतीपातीमा छिटोछरितो हुने गरेको छ भन्नुभयो ।

यता रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु अधिकारीले रारा प्रचारप्रसारको प्रभावले गर्दा गएको वर्षभन्दा यो वर्षमा उल्लेखनीय पर्यटकको आगमान भएको तथ्याङ्कले जनाएको छ । रारालगायत यहाँका गाउँ आसपासमा नेपाली पर्यटक तीन हजार २२१, सार्क राष्ट्रबाट २७ जना पर्यटक त्यसै गरी विदेशी पर्यटक ८२ जनाको आगमन भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

साउनदेखि कात्तिकसम्म जम्मा आन्तरिक र विदेशी पर्यटक गरी जम्मा तीन हजार ३३० जना अवलोकन गर्न आएको तथ्याङ्कमा उल्लेख रहेको छ ।