सिराज खान
नेपालगन्ज, कात्तिक २१ गते । गत शुक्रबार राति आएको भूकम्पमा परेर घाइतेहरूको उपचारका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन भएको छ । गम्भीर घाइते भएकालाई कुनै पनि बेला रगत आवश्यक पर्ने हुँदा रगत सङ्कलन गरेर राखिएको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले जनाएको छ ।
चाडपर्वको समयका कारण नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको अभाव रहेकाले भूकम्प आएलगत्तै सर्वसाधारणसँग रक्तदानको अनुरोध गरेर खुला रक्तदान कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धन सिंहले बताउनुभयो ।
उहाँले नेपालगन्ज मात्र नभई अन्य अस्पतालमा समेत रगतको अभाव हुन नदिन यो रगत सङ्कलन गरिएको जनाउँदै आवश्यक परे तत्काल पठाउन सकिने बताउनुभयो ।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जले रक्तदान गर्न आह्वान गरेलगत्तै बाँके र बर्दियाबाट ठुलो सङ्ख्यामा रक्तदानका लागि युवाहरू रक्तसञ्चार केन्द्र पुगेका थिए ।
रेडक्रसको सहयोग
यसैबिच नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले भूकम्प प्रभावितलाई स्वास्थ्य र नगद सहयोग गरेको छ । शाखाले प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटी जाजरकोट र रुकुमपश्चिम जिल्ला शाखामार्फत क्रमशः ५०–५० हजार नगद सहयोग गर्ने निर्णय गरेको छ ।
साथै विभिन्न उपशाखालाई पनि सहयोगका लागि आह्वान गरिएको छ । यसैगरी प्रारम्भिक द्रुत लेखाजोखा गर्न आपत्कालीन प्रतिकार्यका लागि एक जना तालिम प्राप्त दक्ष व्यक्तिलाई परिचालन गरिएको शाखाले जनाएको छ ।
बाँके शाखाको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र रुकुमपश्चिमका प्रभावितका लागि ६०० थान कम्बल, त्रिपाल र पीफर्म पठाइएको छ ।