काठमाडौं, कात्तिक २१ गते । काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलाप गर्ने कम्पनी तथा फर्मलाई जरिवाना गरी नौ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्नेमा महानगरकी उपप्रमुख एवम् बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सुनिता डङ्गोलले अनुगमन टोलीलाई निर्देशन पनि दिनुभएको छ ।
महानगर उपप्रमुख डङ्गोलको कार्यकक्षमा सोमबार बसेको बैठकमा उहाँले उद्योग ठुलो छ कि सानो भन्ने आधारमा नभई कसुरका आधारमा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा अनुचित क्रियाकलाप गर्ने, मूल्य, गुणस्तर, नाप तौलमा उपभोक्तालाई ठगी गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीलाई जरिवाना गर्नुपर्छ । तर यसरी गरिने जरिवाना उद्योग ठुलो छ कि सानो छ का आधारमा होइन । कसुरका आधारमा तोक्नु पर्छ ।”
कृषि तथा पशुपन्क्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले ४ महिनामा ७ बटा कम्पनी तथा फर्मलाई अनुचित व्यापारिक क्रियाकलाप गरेका कारण तिराइएको जरिवानाबाट नौ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
डा. झाका अनुसार त्रिकोण वेभरेज इन्डष्ट्री (बालाजु) लाई शिलबन्दी पानीमा कीरा र लेउ भेटिएपछि एक लाख रुपियाँ, कालिन्चोक ट्रेडिङ् नेपाल (पुतली सडक) लाई पेय पदार्थमा ढुसी भेटिएपछि एक लाख ५० हजार जरिवाना गरिएको थियो । टिपटप समोसा पसललाई बिग्रिएको दुधवरी बिक्री गरेको अवस्थामा पाइएपछि दुई लाख रुपियाँ, वरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य बस्तु भेटिएपछि दुई लाख रुपियाँ जरिवाना भएको थियो ।
भीम स्टोरलाई म्याद सकिएका मदिरा (बियर) नाइट क्लबमा आपूर्ति गरेकोले दुई लाख, भृकुटीमण्डपको पीजी खाजा घरलाई समोसामा साङ्ला भेटिएपछि १० हजार, र बुढानीलकण्ठको पशुपति स्प्रिङ् वाटरलाई खानेपानीमा कीरा र लार्भा भेटिएकोले एक लाख रुपैयाँ जरिवाना गरिएको हो ।
महानगरको अनुगमन टोलीले साउनदेखि अहिलेसम्ममा ४३ दिन अनुगमन गरेको छ । यसमा एक सय ६५ वटा स्थानको अनुगमन भएको छ ।