• ६ जेठ २०८१, आइतबार

नगरपालिकामा राहत सामग्री, पीडितको घरबाहिर बास

blog

जाजरकोटको भेरी नगरपालिका बाहिर राहत लिएर पुगेका दाताहरु र राहत सामग्री । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

जजरकोट, कात्तिक २१ गते । जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालय परिसरभित्र र बाहिर भूकम्प प्रभावितको सहयोगका लागि प्राप्त भएको राहत सामग्रीको थुप्रो छ । तर कार्यालयनजिकै भूकम्पबाट अति प्रभावित थाप्लेका पीडितले अहिलेसम्म पनि राहत सामग्री नपाएको गुनासो गरेका छन् । 

भेरी नगरपालिका –३ थाप्लेका दीपककुमार शाह तीन दिनदेखि घर बाहिर बस्दैआएको बताउनुहुन्छ । ६०–७० जनाको समूह घर बाहिर त्रिपाल लगाएर बस्दैआएको उहाँले बताउनुभयो । शाह भन्नुहुन्छ, ‘अहिलेसम्म राहत लिएर कोही पनि आएका छैनन्, हामी आफैँ व्यवस्थापन गरेर बसिरहेका छौं ।’ 

सदरमुकाम भएका कारण विभिन्न सङ्घ संस्थाले राहत लिएर नगरपालिकामा बुझाउने गरेका छन् । बारेकोट, नलगाड र रुकुमपश्चिमका स्थानीय तह टाढा भएकाले अधिकांश दाताहरु सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र भेरी नगरपालिकामा पुगेर राहत हस्तान्तरण गरी फर्किने गरेका छन् । 

भेरी नगरपालिकाका सूचना अधिकारी सूर्यप्रसाद लम्साल नगरभित्र रहेका कच्ची घर अधिकांश भत्केको र चर्केको अवस्थामा रहेको बताउनुभयो । करिब चार हजार बढी घरमा क्षति पुगेको उहाँको भनाइ छ । लम्सालले भन्नुभयो, ‘क्षतिको पूर्ण विवरण सङ्कलनका लागि टोली परिचालन भएको छ ।’ 

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको लम्सालले बताउनुभयो । नगरप्रमुख सीपी घर्तीले भूकम्प पीडितलाई प्राप्त राहत र नगरपालिका आफैले व्यवस्थापन गरेर राहत वितरण गरिरहेको बताउनुभयो । प्रारम्भिक चरणमा ब्ल्याङ्केट, पिफर्म, पाल, चामल प्रभावितलाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । 

यसैबीच नेकपा (एमाले) बाँकेका तर्फबाट पार्टी केन्द्रीय सचिव पद्मा अर्यालको नेतृत्वमा जाजरकोट पुगेर राहत सामग्री हस्तान्तरण गरिएको छ ।