सिराज खान
नेपालगन्ज, कात्तिक २१ गते । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकामध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४६ जनाको उपचार भइरहेको छ ।
बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले ४९ जना भूकम्पपीडित घाइतेलाई नेपालगन्ज ल्याइएकोमा दुई जना निको भएर घर फर्किएको, एक जनाको ल्याउँदाल्याउँदै मृत्यु भएको र ४६ जनाको उपचार भइरहेको बताउनुभयो ।
उहाँले भेरी अस्पतालमा उपचाररत सबै घाइतेको अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको बताउनुभयो । भूकम्पमा घर खस्दा च्यापिएपछि बच्चा पेटमा नै मरेपछि व्यथा लाग्ने औषधि खुवाएर नर्मल डेलिभरी गराइएकी १९ वर्षीया युवतिको पनि स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले शनिवार बिहानैदेखि दिनरात खटिएर चिकित्सक र स्वास्थ्यकर्मीले गरेको मिहिनेतको परिणामस्वरूप यहाँ आएका सबै घाइतेको स्वास्थ्यमा सुधार आएको बताउनुभयो ।
उहाँले यहाँ उपचार गराइरहनु भएकामध्ये दुई जना निको भएर घर फर्किनुभएको र ४६ जना घाइते सबैको स्वास्थ्य सामान्य रहेको बताउनुभयो । शनिवार घाइतेलाई अस्पताल लग्दा ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा भर्ना रहनु भएका घाइतेमा २४ महिला र २२ जना पुरुष रहेकोमा १६ जना बालबालिका रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले सोमबारको परकम्पमा परी घाइते भएकी एक तीन वर्षीया बालिकालाई मङ्गलबार बिहान उपचारका लागि भेरी अस्पताल ल्याइएको बताउनुभयो । श्रेष्ठका अनुसार हाल अस्पतालमा रहनुभएका घाइतेमध्ये जाजरकोटका ३०, रुकुमपश्चिमका १५ र सल्यानका एक जना हुनुहुन्छ ।
सोमवार र मङ्गलवार बिहान गरेर थप पाँच जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ । यसैबिच भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले सबै घाइतेको निःशुल्क उपचार भइरहेकाले कसैले पनि सो बारेमा अनर्गल प्रचार नगर्न आग्रह गर्नुभयो ।