रेखीराम राना
पाल्पा, कात्तिक २१ गते । पाल्पामा एक जना युवाको डुबेर मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, स्थित भूतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ का २२ वर्षीय विमल आचार्यको मृत्यु भएको हो ।
यस्तै, सोही स्थानका २६ वर्षीया युना दाहाल गम्भीर घाइते हुनुभएको छ । मङ्गलबार बिहान साढे १० बजेतिर रुपन्देहीबाट पाल्पातर्फ घुम्न आउनुभएका दुबैजनालाई भुतखोलामा डुबेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले उद्धार गरेका थिए । उद्धारपछि दुबैजनालाई उपचारका लागि बुटवलस्थित बुटवल अस्पताल प्रालिमा पठाइएको थियो ।
अस्पताल लगेपछि आचार्यलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारेमा थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।