• १२ साउन २०८१, शनिबार

पाल्पामा धान उत्पादन घट्यो

blog

पाल्पाका किसान धान स्याहार्दै । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, कात्तिक २१ गते ।
पाल्पामा यो वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यो वर्ष पाल्पामा धान उत्पादन घटेको हो । धान खेती गर्ने क्षेत्रफल घटेका कारण यो वर्ष उत्पादनमा असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । ज्ञान केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार यो वर्ष पाल्पाको धान उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव आठ प्रतिशत मात्र छ । गत वर्ष आठ दशमलव नौ प्रतिशत थियो ।

गत वर्ष आठ हजार २१० हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यो वर्ष घटेर सात हजार ३९० हेक्टर क्षेत्रफलमा मात्र धानखेती भएको थियो । यो वर्ष पर्याप्त पानी नपरेका कारण र खेती गर्ने जनशक्ति अभावका कारण धान खेती गर्ने क्षेत्रफल घटेको ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गत वर्षको तुलनामा यो वर्ष ९० प्रतिशत भूभागमा मात्र धानखेती भएको छ ।’’ बसाइसराइँ र ज्यामी अभावले धानखेती हुने क्षेत्रफल घटेको उहाँले बताउनुभयो ।

पाल्पामा साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुख्खा धान, सावित्री तथा स्थानीय जातको धानखेती हुँदै आएको छ । पछिल्लो समय उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेपनि यो वर्ष भने प्रारम्भिक तथ्याङ्कमा उत्पादन घटेको ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष चौधरीले बताउनुभयो ।

धान खेती हुने क्षेत्रमा सिंचाइको अभावका कारण पनि धान लगाउने क्षेत्र घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । चार वर्षअघि मात्र आठ हजार ६२० हेक्टरमा धानखेती हुँदै आएको थियो तर पछिल्लो तीन वर्षयता धान खेती हुने क्षेत्रफल निरन्तर रुपमा घटेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।