• ६ माघ २०८१, आइतबार

भएन फुकुवा विद्यालयको रकम

blog

जीवछ यादव

लहान, कात्तिक २१ गते । जनता डोमी चौधरी माध्यमिक विद्यालय (प्राविधिकधार) नमुना विद्यालयको एक करोडभन्दा बढी रुपियाँ रोक्का रहेपछि समस्या उत्पन्न भएको छ । नमुना विद्यालय सुधार गुरुयोजना अनुरूप भौतिक निर्माण अनुदान रकम ५० लाख रुपियाँ र विद्यालयको अन्य आयस्रोतबाट गरी शैक्षिक भवन ब्लक ‘ए’ को दोस्रो तला निर्माण कार्य स्टिमेट एक करोड ३६ लाख आठ हजार ४२२ रुपियाँ ८५ पैसा गरिएको थियो ।

इबिडबाट ७६ लाख १६ हजार ९१७ रुपियाँ ०८ पैसामा कन्टेन्जेन्सीबाहेकमा २०७९ साल फागुन ८ गते सम्झौता भयो । २०८० असार १६ गतेमा झ्याल ढोकासहित पर्खालमाथि छत निर्माण सम्पन्नपश्चात् ३० प्रतिशत र अन्तिम निकासा २० प्रतिशत दिनुपर्नेमा गत असार मसान्तसम्म निकासा नदिँदा विद्यालयको कोषमा रहेको रकम ठेकेदारलाई दिनु परेको विद्यालयले जनाएको छ । 

अनलाइन टेन्डर गरी तोकिएको सबै मापदण्ड पूरा गरेर भवन निर्माणको कार्य सम्पन्न गरेको प्रधानाध्यापक पशुपति साहले बताउनुभयो । प्रव्रिmया पुगेको छैन र काम सम्पन्न नभएको हो भने रकम रोक्का गर्न मिल्थ्यो । सबै आधार पु-याएर दिँदा पनि लक्ष्मीपुर पतारीका शिक्षा शाखा, प्रमुख प्रशासकीय अधिकृत र लेखापालले भुक्तानी नदिएर दौडाइरहेको उहाँले बताउनुभयो । 

प्रअ साहले भन्नुभयो, “इमानदारीपूर्वक काम भएको छ । गाउँपालिकाको कार्य अनुगमन गरी असार महिनामा नै भुक्तानी दिनुपर्नेमा २०८० साल साउन ४ गते रकम रोक्का गरिएको कारणबारे पटक पटक गाउँपालिकामा दौड्दा कुनै सुनवाइ भएको छैन ।” गाउँपालिकाले फुकुवापत्र नदिएपछि जिल्ला प्रशासन कार्यालय सिरहामा २०८० साल असोज ५ गते समस्या अवगत गराएको र सो कार्यालयले समेत गाउँपालिकालाई पत्राचार गरिसकेको छ । गाउँपालिका शिक्षा शाखालाई मागे अनुसारको कमिसन रकम नदिँदा अनावश्यक हैरानी खेप्नु परेको उहाँले आरोप लगाउनुभयो । 

गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले विद्यालयमा मापदण्ड अनुसारको काम भएको र रकम फुकुवाका लागि शिक्षा शाखा र लेखापाललाई आफूले पनि पटक पटक भने पनि अटेरी गरिएको स्वीकार्नुभयो । प्रमुख प्रशासकीय अधिकृत अशोक सिंहसँग जिज्ञासा राख्दा आफूलाई केही जानकारी नभएको भन्दै यसको जिम्मेवारी शिक्षा शाखा भएको भनेर टार्नुभयो । यता शिक्षा शाखाका विद्यालय निरीक्षक रामबालक पासमानसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । गाउँपालिकाले बैङ्क खाताको एक करोड १९ लाख ९० हजार रुपियाँ रोक्का गरिदिएपछि ठेकेदारलाई विद्यालयको कोषबाट रकम भुक्तानी गर्नु परेको बताउँदै स्थानीय किरण रायले शिक्षकको समयमा तलब खुवाउनसमेत समस्या भइरहेको बताउनुभयो ।