• ६ माघ २०८१, आइतबार

१८ वर्षीया प्रतिभा बनिन् नगरप्रमुख

blog

नमुना अभ्यासका लागि मेयर बन्नुभएकी प्रतिभा कुमारी सहनीलाई स्वागत गरेर कुर्सी प्रदान गर्नुहुँदै विदेह नगरपालिकाका नगरप्रमुख बेचन दास । तस्बिर: गोरखापत्र 

धर्बेन्द्र झा

धनुषा ,कात्तिक २१ गते । कक्षा १२ मा अध्ययनरत १८ वर्षीया प्रतिभाकुमारी सहनी विदेह नगरपालिकाको नगरप्रमुख बन्नुभएको छ । 

बालिकाहरूलाई सशक्तीकरण गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपालको ‘गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत सोमबार  प्रतीकात्मक रूपमा उहाँलाई विदेह नगरपालिकाको नगर प्रमुख बनाइएको हो । धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले  आफू बसेको कुर्सी खाली गरेर प्रतिभालाई नगरप्रमुख पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । 

नगर प्रमुखको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रतिभाले जीवनमा नगरप्रमुख बन्छु भन्ने कुरा कहिले पनि आफूले नसोचेको र आज आफू नगर प्रमुखको कुर्सीमा बिरजमान भएपछि आफूलाई भाग्यमानी ठानेको बताउनु भयो । उहाँले आफू सुरुदेखि नै शिक्षक बन्न रुचाएको बताउनुभएको थियो । केही बेरका नाटकीय अभ्यास गरी नगरप्रमुख बन्नुभएकी प्रतिभाले नगरपालिका कार्यालयमा उपस्थित कर्मचारीहरूसँग नगरपालिकाले गर्ने कामकाज, हालसम्म नगरमा भएका कामकाज र आम नागरिकको समस्याका बारेमा जानकारी लिनुभएको थियो ।

उहाँलाई विदेह नगरपालिकाका कार्यकारी अधिकृत सञ्जीव साहले नगरप्रमुखको काम कर्तव्य र हालसम्म नगरपालिकामा भएका विकास निमार्णको कामका बारेमा जानकारी गराउनुभएको थियो । केही बेरका लागि नगरप्रमुख भएकी प्रतिभालाई विदेह नगरपालिकाका किशोरीहरूले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नगरपालिकाका किशोरीहरूले भोग्दै आएको समस्याको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उठेका विषय वस्तुहरूको जवाफ दिँदै विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले नगरको स्वरूप फेरिने किसिमले कामकाज अगाडी बढाइएको बताउनुभयो । उहाँले प्राप्त १० करोड ७१ लाख रकम बजेटमध्ये चार करोड २० लाख बजेट शिक्षाक्षेत्रको लागि मात्रै छुट्ट्याएको बताउनुभयो । उहाँले यस आर्थिक वर्षमा कृषि विद्युतीकरणमा २ करोड रकम छुट्ट्याएको र अगामी दिनमा किसानलाई सिँचाइको समस्या समाधान हुने बताउनुभयो ।

उहाँले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर कामकाज भइरहेको र नगरको ९ वटै वडामा स्वास्थ्य चौकी रहेको बताउनुभयो ।