• १५ मंसिर २०८१, शनिबार

भूकम्पपीडितलाई जुट्दै सहयोग

blog

बेनी बजार क्षेत्रमा आर्थिक सङ्कलन गरिँदै ।

मीना कँडेल 

कावासोती, कात्तिक २१ गते । पूर्वी नवलपरासीका तीन स्थानीय तहले भूकम्पका कारण पीडित भएकालाई दुई/दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जिल्लाका देवचुली, मध्यबिन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले डोटी जिल्लाका सायल र बोगटान फुड्सिल गाउँपालिकाले सहयोग गर्ने घोषणा गरेका हुन् । 

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१, रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पीडित भएकालाई तिनले दुई/दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् । नवलपुरको विनयीत्रिवेणी गाउँपालिकाले दुई लाख रुपियाँ सहयोग गर्ने भएको छ । विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाका तर्फबाट पहिलो चरणमा भूकम्पपीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि तत्काल दुई लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

यसै गरी विनयीत्रिवेणी गाउँपालिकाद्वारा प्रकाशित विज्ञप्ति अनुसार भूकम्पका कारण अति प्रभावित कर्णाली प्रदेशका जाजरकोट र रुकुम जिल्ला विपत् व्यवस्थापन समितिको खातामा दुई लाख रुपियाँ उपलब्ध गराउने उल्लेख गरिएको छ । 

नवलपरासीपूर्वको देवचुली नगरपालिकाले जाजरकोट केन्द्र बनाई गएको विनाशकारी भूकम्पबाट पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि दुई लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नगरपालिका र नगरवासीका तर्फबाट दुई लाख रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भूकम्पमा परी मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

पठाइयो राहत 

म्याग्दी समाचारदाताका अनुसार जाजरकोट तथा रुकुममा ठुलो क्षति हुने गरी आएको भूकम्पका पीडितका लागि सदरमुकाम बेनीमा राहत सङ्कलन गरी पठाइएको छ ।

लायन्स क्लब तथा नेपाल रेडक्रस सोसाइटीले संयुक्त रूपमा बेनी बजार क्षेत्रमा सङ्कलन गरेको एक लाख ३० हजार ११० रुपियाँ पीडितका लागि पठाइएको हो । बेनी बजार र आसपासका क्षेत्रमा रहेका लायन्स क्लब र रेडक्रसको जिल्ला शाखाले संयुक्त रूपमा रकम सङ्कलन गरी रुकुम र जाजरकोटका लागि पठाइएको नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक सभापति काशीराम रोग्मीले बताउनुभयो । सङ्कलित रकममध्ये ७८ हजार जाजरकोट र ५२ हजार ११० रुपियाँ रुकुम पठाइएको उहाँको भनाइ छ ।

ठुलो क्षति भएको स्थानमा पठाइएको रकम सानो भए पनि पीडाको समयमा साथ दिन पाउनु आफैँमा फरकपन भएको विष्णु गौतमले बताउनुभयो । सङ्कलित रकम भूकम्प प्रभावित राहत कोष जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जारी गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयको राहत खातामा जम्मा गरिएको रेडक्रस सोसाइटी म्याग्दी शाखाका शाखा अधिकृत धनञ्जयकुमार श्रेष्ठले बताउनुभयो । सङ्कलित रकम सम्बन्धित जिल्लाको आधिकारिक निकायले जारी गरेको खातामा जम्मा गरिएको उहाँको भनाइ छ ।

क्रियाशील सदस्यबाट सहयोग 

स्याङ्जा समाचारदाताका अनुसार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितको पुनस्र्थापना र राहतका लागि नेपाली कांग्रेस स्याङ्जाले आर्थिक सहयोग गर्ने भएको छ । 

स्याङ्जाका सभापति राजु थापाले कांग्रेस स्याङ्जाले क्रियाशील सदस्यबाट रकम सङ्कलन गरेर सहयोग गर्ने निर्णय गरेको बताउनुभयो । क्रियाशील सदस्यबाट जनही ५० रुपियाँ सङ्कलन गरी १० लाख ५६ हजार १५० रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको हो । कार्यसमिति पदाधिकारीको बैठकले जिल्लाभरका २१ हजार १२३ जना क्रयाशील सदस्यबाट रकम सङ्कलन गरिने जनाएको छ । 

पुतलीबजारको पनि सहयोग 

पुतलीबजार नगरपालिकाले भूकम्पको प्रकोपमा पीडित भएका नागरिकको पीडामा हातेमालो गर्ने उद्देश्यले सहयोग गरेको छ । नगरपालिकाले तीन लाख ४५ हजार ३४० रुपियाँ सहयोग गरेको हो । 

भूकम्पपीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पुतलीबजार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले नेपाल सरकारको विपत् व्यवस्थापन कोषमा रकम जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । नगरपालिकाका सम्पूर्ण कर्मचारीले एक दिन बराबरको तलब र जनप्रतिनिधिको पाँच दिन बराबरको सेवासुविधा कोषमा जम्मा गरेको नागिलाले बताउनुभयो । 

सहयोगको निर्णय

सुलीकोट समाचारदाताका अनुसार गोरखा जिल्लाका ११ वटै स्थानीय तहले सहयोग गर्ने निर्णय गरेका छन् । गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले गोरखा र पालुङटार नगरपालिकाले एक लाख ५० हजार रुपियाँका दरले र अन्य नौ वटा पालिकाले एक÷एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

आइतबार जिल्ला सदरमुकाममा सबै स्थानीय तहका प्रमुख र उपप्रमुखबिच भएको छलफलले यस्तो निर्णय गरेको रानामगरले बताउनुभयो । भूकम्पमा परी जाजरकोट, रुकुमपश्चिमलगायतका प्रभावित क्षेत्रमा ठुलो सङ्ख्यामा मानवीय, भौतिक क्षति तथा घाइते भएकाप्रति दुःख व्यक्त गर्दै स्थानीय तहले विपत्को समयमा सबै एक ठाउँ भएर सामना गर्नुपर्ने बैठकले निर्णयसमेत गरेको छ । 

गोरखाबाट जान लागेको ११ पालिकाको १३ लाख रुपियाँ राज्यको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले जानकारी दिनुभयो ।