• २४ असार २०८२, मङ्गलबार

असल राष्ट्रसेवक बन्ने रमेशको सपना

blog

तम्घास समाचारदाता

तम्घास, कात्तिक २१ गते । एक वर्षमै लोक सेवाका १० वटा परीक्षा उत्तीर्ण गर्न सफल गुल्मीका रमेश भण्डारीले असल राष्ट्रसेवक बन्ने चाहना राख्नुभएको छ । गुल्मी जिल्लाको धुर्कोट–५, वस्तुका २५ वर्षीय भण्डारी हालै सङ्घीय शाखा अधिकृत (लेखा समूह) सिफारिस हुनुभएको छ । 

भण्डारीले माथिल्लो स्तरमा पुग्नका लागि प्रयास जारी राख्दै गर्दा सचिव र मुख्य सचिवसम्म पुगेर असल राष्ट्रसेवक बन्ने सपना रहेको बताउनुभयो । लोक सेवाको तयारी गरेको छोटो समयमै मेहनतले सफलता हात परेको खुसी उहाँले सुनाउनुभयो । 

छोटो समयमै निजामती सेवा, बैङ्किङ सेवा, सार्वजनिक संस्थान, प्रदेश र स्थानीय सेवा गरी विभिन्न निकायमा नाम निकाल्न सफल भण्डारीले अनुभव बटुल्ने सौभाग्य मिलेको बताउनुभयो । 

यो नतिजाले आफूमा अझै जिम्मेवारी थपिएको भन्दै राष्ट्र र जनताले चाहे अनुसार सेवा प्रदान तथा भूमिका निर्वाह गर्न निरन्तर प्रयास गर्ने भण्डारीले बताउनुभयो । २०७८ सालमा पहिलो पटक शाखा अधिकृतमा असफल हुनुभएका भण्डारीले दोस्रो पटकबाट भने निरन्तरको नाम निकाल्न सफल हुनुभएको थियो । लोक सेवा आयोगको परीक्षामा सफल बन्नका लागि निरन्तर मेहनत नै आवश्यक रहेको उहाँको भनाइ छ । सानै उमेरदेखि अध्ययनमा रुचि राख्ने भएकाले आफूलाई घरपरिवारको साथ र सहयोगले नै सफलता हासिल गर्न प्रेरणा मिलेको बताउनुभयो । 

लोक सेवा तयारी गरेकालाई निरन्तर अध्ययन र लेखन गर्न उहाँको सुझाव छ । लोक सेवाले लिएको परीक्षामा अनुत्तीर्ण भए भन्दै हार खान नहुने र निरन्तर प्रयास गरेमा सफल बन्न सकिने भण्डारीले बताउनुभयो । भण्डारीले गण्डकी प्रदेश स्थानीय पाँचौँ तह (प्रशासनसँगै लेखा), सङ्घमा नायब सुब्बा प्रशासन समूह, सङ्घमै नायब सुब्बा लेखा तथा लेखापरीक्षण समूह, कृषि विकास बैङ्क पाँचौँ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत् प्राधिकरण पाँचौँ तह लेखा समूह, नेपाल विद्युत् प्राधिकरण चौथो तहको परीक्षा उत्तीर्ण गर्नुभएको हो । 

त्यस्तै नेपाल टेलिकम छैटाैँ तह सहायक व्यापार अधिकृत, नेपाल टेलिकम चौथो तह उतीर्ण गर्नुभयो । भन्सार विभागले करिब २२ वर्षपछि विज्ञापन गरेको भन्सार एजेन्टको लाइसेन्सको परीक्षा पनि उत्तीर्ण गर्नुभएको थियो । निजामती सेवा प्रवेश गरेपछि उहाँले सो लाइसेन्स खारेज गर्नुभएको छ ।